
लुम्बिनी । विश्व शान्तिको कामनासहित बुद्धजन्मस्थल लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन गरिएको छ । चौथौ त्रिपिटक पाठ समारोहको समापनलगत्तै शनिबार साँझ केन्द्रीय नहरको मध्यभागमा अवस्थित लुम्बिनी स्क्वायरमा सात हजार दीप प्रज्ज्वलन गरिएको हो ।
धम्मकाय फाउन्डेसनले भिक्षु–भिक्षुणी, लामा गुरु, आनी, उपासक उपासिका र प्रवजित भएका पाँच सय जना अल्पकालीन भिक्षुहरूको सहभागितामा शान्ति र सौहर्दताका लागि दीप प्रज्ज्वलन गरिएको हो । नेपालको झण्डा केन्द्रभाग मानी धम्मचक्रको आकार आउने गरी गरिएको दीप प्रज्ज्वलनको अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष धम्मशोभन महास्थविरले शुभारम्भ गरेका थिए । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले बुद्धजन्मस्थल लुम्बिनीमा दीप प्रज्ज्वलन गरी विश्व शान्ति र प्राणी जगत्को कल्याणको कामना गर्नु आफैँमा महत्त्वपूर्ण भएको बताए । उनले बुद्धका उपदेशहरूलाई यस्तै आध्यात्मिक कार्यक्रमबाट विश्वभर फैलाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा थाईधम्मकायका सल्लाहकार डा अदिसकले बुद्धको शिक्षाले विश्वबन्धुत्व र एकतालाई जोड दिएको बताउँदै दीपले आन्तरिक र बाह्य ज्ञानलाई प्रतिविम्बन गरेको बताए । यसैगरी कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका सल्लाहकार रोशनी गिरी, अखिल नेपाल भिक्षु महासङ्घका सचिव भिक्षु निग्रोध महास्थविर, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा सुवर्णलाल बज्रचार्यले दीपको प्रकाशजस्तै बुद्धको उपदेशले पनि अँध्यारो चिर्दै जाने बताए ।
सकियो त्रिपिटक पाठ
बुद्धजन्मस्थल लुम्बिनीमा सञ्चालित चारदिने चौथो अन्तरराष्ट्रिय त्रिपिटक पाठ सकिएको छ । अखिल नेपाल भिक्षु महासङ्घको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सहआयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक पाठ गरिएको हो ।
त्रिपिटक पाठको शनिबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समापन गरे । समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले बुद्धका उपदेशलाई विश्वभर फैलाउन आग्रह गरे । उनले बुद्धको शिक्षा र उपदेशलाई आत्मसात् गरी शान्ति, करुणा र सहअस्तित्वको भावना फैलाउन सकिने बताए ।
कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले लुम्बिनी बुद्धजन्मस्थल भएकाले विश्वभरका बौद्धमार्गीहरूको आस्थाको केन्द्र भएकाले यहाँ आउदा बुद्धलाई साक्षात् भेटेजस्तो हुने बताए । कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु धम्मशोभन महास्थविरले भगवान् बुद्धको उपदेश वैज्ञानिक र समयसापेक्ष रहेको बताए । उनले बुद्धका उपदेशलाई चार दिनसम्म बुद्धजन्मस्थलमा पाठ गर्दा त्यसबाट सकारात्मक ऊर्जा पैदा गरेको बताए ।
यस्तै लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले त्रिपिटक पाठले लुम्बिनीको पर्यटन प्रवद्र्धनसँगै बुद्ध शिक्षालाई अन्तरराष्ट्रियकरण गराउन महत्त्वपूर्ण योगदान दिएको बताए । कार्यक्रममा इन्टरनेसनल त्रिपिटक च्यान्टिङ कमिटीका संस्थापक उपासिका वाङ्मो डिक्सीले बुद्धको उपदेश लुम्बिनीमा बसेर पाठ गर्न पाउनु जीवनकै अमूल्य उपलब्धि भएको बताए । कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका सचिव भिक्षु निग्रोध महास्थविर, लुम्बिनी होटल व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष लीलामणि शर्मालगायतले बुद्धका उपदेश विश्वभर फैलाउन यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताए । उक्त अवसरमा त्रिपिटक कार्यक्रमका लागि सहयोग गर्नेहरूलाई सम्मान पनि गरिएको महासंघका प्रचार संयोजक भिक्षु बिमलो महास्थविरले जानकारी दिए ।
गौतम बुद्धले ४५ वर्षसम्म निरन्तर प्रदान गरेको ज्ञान एवं धर्म देशनाको त्रिपिटकमा सङ्ग्रहित गरिएको छ । त्रिपिटक पाठ समारोहमा भिक्षु भिक्षुणी, लामा, आनी, उपासक उपासिकासहित चार सय बढीको सहभागिता थियो ।













समाचार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
लेखक तथा फोटोग्राफर भरतबन्धु थापाको फोटो पुस्तक ‘प्याराडाइज बागमती’ सार्वजनिक
प्रधानमन्त्री बालेनले लिए सुनसरी घटनाको विस्तृत ब्रिफिङ
मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन
सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक
सेयर बजारको गिरावटमा लागेन ब्रेक, परिसूचक ७ अंकले घट्दा ४ अर्बको कारोबार
विदेशी मुद्राको सञ्चिति साढे ३७ खर्ब माथि, १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
चालु खाता ८०२ अर्ब एवम् शोधनान्तर स्थिति ९२६ अर्बले बचतमा
रेमिट्यान्स आप्रवाह ३८ प्रतिशतले बढ्यो, ११ महिनामा २१ खर्ब बढी भित्रियो
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए