
महोत्तरी । महोत्तरीसहित मधेशका जिल्लाहरूमा हाल वासन्ती छठ पर्वको रौनक छ । बोलीचालीमा चैती छठ भनिने यो पर्वको तेस्रो र मुख्य दिन व्रतालुुले आज षष्ठी तिथिका दिन निराहार व्रत सुरु गरेका छन् । पञ्चमीका दिन बुधबार मध्यरातअघि खरना विधि गरेर सख्खरको खिर प्रसादस्वरुप खाएपछि निराहार व्रत प्रारम्भ भएको छ ।
आज साँझ नै व्रतालुुले पवित्र जलाशयमा सजाइएको घाटमा मिष्टान्न परिकार राखिएका डालीहरू हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिनेछन् । यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिन्छ । श्रद्धा, निष्ठा र समर्पणको प्रतीक मानिने छठ पर्वको अवसरमा मिथिलाका गाउँबस्ती भक्तिमय बनेका छन् । जलाशयमा बनाइएका घाटहरूरु अत्यन्त मनमोहक देखिएका छन् । व्रतालुुले भोलि शुक्रबार सप्तमी तिथिका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यसपालिको वासन्ती छठ पर्व विधिवत् समापन हुनेछ ।
यसअघि गत मङ्गलबार चौथी तिथिका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका व्रतालुुले पञ्चमी तिथिका दिन बुधबार राति नुन नहालेर एकछाक मात्र खाएर ‘खरना’ विधि सम्पन्न गरिसकेका छन् ।
मधेशको प्राचीन मिथिला क्षेत्रमा वर्षको दुईपटक छठ मनाइन्छ । कात्तिक शुक्लपक्ष चौथीदेखि सप्तमीसम्म मनाइने छठलाई शारदीय भनिन्छ । यसैगरी, चैत शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइने छठलाई वासन्ती वा चैती छठ भनिन्छ । दुवै छठमा सूर्यदेव र षष्ठीदेवी (बोलीचालीमा छठीदेवी) को उपासना गरिन्छ । दुवै छठका व्रतविधान समान छन् । यो व्रतको प्रभावले मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । केही दशकअघि मिथिला र तराई क्षेत्रको मात्र मुख्य पर्व मानिने छठ पछिल्लो समय नेपालभर विस्तार भएको छ । सबैको साझा र मिथिला संस्कृतिको प्रतीक बनेको यो पर्वलाई लोकआस्थाको महापर्व पनि भनिन्छ ।













समाचार
लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै
धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन
एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो
इंग्ल्यान्डका अलराउन्डर जैब सुदूरपश्चिम रोयल्समा
तीन सातादेखि तातोपानी नाका अवरुद्ध, नेपाल–चीन व्यापार ठप्प
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति
क्यानडा पठाइदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ
आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता
बीवाइडीको ‘अपडेट टु कियर प्लस’ योजना सार्वजनिक, पाँच नयाँ सेवासहित सर्भिस सेन्टरको संख्या १९ पुर्याउने
टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द