
कास्की । आलु गाउँका रूपमा प्रख्यात पोखरा महानगरपालिका–२५ हेम्जामा आजदेखि राष्ट्रिय आलु महोत्सव सुरु भएको छ । ‘सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ नारासहित आगामी वैशाख ३ गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।
आयोजक विष्णुपादुका क्लबका अध्यक्ष वसन्त श्रेष्ठले महोत्सवसँगै यहाँ उत्पादन भएको आलु तथा अन्य ताजा तरकारीको प्रचारप्रसार, व्यावसायिक कृषि पर्यटकीय क्षेत्रका चिनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । यहाँको आलु छिटो पाक्ने, विषादी कम प्रयोग हुने तथा स्वादिष्ट रहेको भन्दै धेरैको रोजाइमा पर्ने गरेको छ । यसैको प्रचारका लागि महोत्सवस्थलमा ५० हजार केजी आलुको पहाड निर्माण गरिएको छ ।
स्थानीय कृषकबाट सङ्कलित आलुबाट पहाड निर्माण गरिएको आलु सङ्कलन तथा कृषि परिचालन उपसमिति संयोजक जयराज तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार आलुको पहाडबाटै आलु निकालेर बिक्री गरिन्छ । बिक्री गर्दा घटेको आलु थपेर अन्तिम दिनसम्म आलुको पहाड कायम राखिने उनको भनाइ छ । तिमिल्सिनाका अनुसार महोत्सवमा प्रतिकेजी रु ४२ मा आलु बिक्री हुने गरेको छ । हेम्जाको कुल १३ हजार ५०० हेक्टर क्षेत्रफलमध्ये ५५० हेक्टरमा आलुखेती गर्ने गरिएको छ । यहाँका दुई हजार परिवार कृषिमा आधारित रहेकामा एक हजार ५० कृषकले व्यावसायिक आलुखेती गर्दै आएका छन् ।
महोत्सव उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले यहाँ कृषिलगायत अन्य क्षेत्रको विकासका लागि महानगरले साथ दिने बताए । उनले उत्पादित कृषिउपजको बिक्री तथा वितरणका लागि महानगरले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएकाले त्यसबाट लाभ लिन आग्रह गरे । कृषि विकास मन्त्रालय गण्डकीका सचिव वासुदेव रेग्मीले खेतीयोग्य जमिन घट्दै जानु चिन्ताको विषय भएको बताए । पोखरामा मागको ९५ प्रतिशत बढी आलु अन्यत्रबाट ल्याउनु परेको जानकारी दिँदै उत्पादन वृद्धि गर्नुपर्ने खाँचो औँल्याए ।
महोत्सवमा कृषक तथा कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, कलाकारहरूका प्रस्तुति, कृषक सम्मान, विभिन्न कृषिउपज, बीउबिजन तथा अन्य कृषियन्त्र पनि प्रदर्शनीमा राखिएका छन् ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हिमालयन लघुवित्तले कमायो १० करोड ६६ लाख नाफा, अन्य सूचक कस्ता?
आइसिएफसि फाइनान्सको नाफा उच्च गिरावट, अन्य सूचक कस्ता ?
महुली लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?
साप्सु कालिका हाइड्रोपावरको साधारणसभा भदौ ५ गते, के-के छन् एजेण्डा ?
‘घुम्ने संस्कृतिले आन्तरिक पर्यटनमा टेवा’
राष्ट्रियसभाको बैठक बस्दै, के छन् एजेन्डा?
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
साउनको तेस्रो सोमबार : सुन्दरीजलमा बोलबम भक्तजनको घुइँचो
इरानप्रति ट्रम्पको ‘यु–टर्न’ : आक्रमण रोकेर वार्ताको घोषणा