काठमाडौं । आज २०८१ सालको अन्तिम दिन हो । सेयर बजार कारोबार हुने पनि यो २०८१ को अन्तिम कारोबार दिन हो । सेयर बजार कारोबार हुने यो वर्षको अन्तिम दिन सेयर बजार एकल अंकले घटेर बन्द भएको छ ।
आज सेयर बजार परिसूचक ८ दशमलव ६२ अंकले घटेर २६६२ दशमलव ०८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये ८८ कम्पनीको सेयर मूल्य बढेको छ भने १५७ कम्पनीको सेयर मूल्य भने घटेर कारोबार भएको छ । त्यस्तै, १ कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ० दशमलव ४० अंकले बढेर ४४६ दशमलव ४४ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ४ वटाको सेयर मूल्य बढेको छ भने बाँकी ९ वटा उपसूचकको सेयर मूल्य भने घटेको छ ।
यो वर्षको अन्तिम कारोबार दिन सेयर बजारमा ६ अर्ब २८ करोड २ लाख ९६ हजार २४५ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ३२२ कम्पनीका १ करोड ३१ लाख ८९ हजार ३२८ कित्ता सेयर ५४ हजार ३६१ पटक खरिद बिक्री गर्दा उक्त रकम बराबरको कारोबार भएको छ । आज सेयर बजारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ भने २ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट
आइतबार सेयर बजार परिसूचक घटेर बन्द भयो । सेयर बजार घटेर कारोबार बन्द हुँदा तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमध्ये दुईवटा लघु बीमा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज एउटा निर्जीवन लघु र एउटा जीवन लघु बीमा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । त्यस्तै गुडविल फाइनान्स लिमिटेड डिबेन्चरको सेयर मूल्यमा पनि आज सकारात्मक सर्किट लागेको छ ।
आज गुडविल फाइनान्स डिबेन्चरको सेयर मूल्य १२१ रुपैयाँ ५० पैसाले बढेर १ हजार ३३६ रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो कारोबारभन्दा १० प्रतिशतले धेरै हो । आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको हो ।
आज नेपाल माइक्रोको सेयर मूल्य ४० रुपैयाँ २० पैसाले बढेर ४४२ रुपैयाँ ४० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । त्यस्तै आज क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य पनि ९.९८ प्रतिशत अर्थात् ३३ रुपैयाँ २० रुपैयाँले बढेर ३६५ रुपैयाँ ९० पैसा पुगेको छ ।
त्यस्तै आज धेरै मूल्य बढ्ने कम्पनीमा त्रिशूली जलविद्युत कम्पनी र एनआईबीएल स्टेबल फण्ड रहेका छन् । आज त्रिशूली जलविद्युत कम्पनीको सेयर मूल्य ३२ रुपैयाँ २० पैसाले बढेर ५५२ रुपैयाँ ७० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ६.३० प्रतिशतले धेरै हो । आज एनआईबीएल स्टेबल फण्डको सेयर मूल्य ०.४४ रुपैयाँले बढेर ८ रुपैयाँ ८७ रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबार दिन भन्दा ५.२२ प्रतिशतले धेरै हो ।
दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट
यो वर्षको अन्तिम कारोबार दिनमा सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आज विन नेपाल लघुवित्त र बलेफी हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लोगको हो । आज विन नेपाल लघुवित्तको सेयर मूल्य ३४७ रुपैयाँ ४२ पैसाले घटेर ३ हजार १२६ रुपैयाँ ७० पैसा पुगेको छ । यो अघिल्लो कारोबारभन्दा १० प्रतिशतले कम हो ।
त्यस्तै आज बेलफी हाइड्रोको सेयर मूल्य ९.९८ प्रतिशत अर्थात् २८ रुपैयाँ २९ पैसाले घटेर २५५ रुपैयाँ २० पैसा पुगेको छ । त्यस्तै आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा सिन्धु विकास बैंक, गार्डियन माइक्रो लाइफ र न्यादी हाइड्रोपावर छन् ।
आज सिन्धु विकास बैंकको सेयर मूल्य १०९ रुपैयाँ ०२ पैसाले घटेर १ हजार ९१ रुपैयाँ ७८ पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ९.०८ प्रतिशतले कम हो । आज गार्डियन माइक्रो लाइफको सेयर मूल्य पनि ४.७१ प्रतिशत अर्थात् १२२ रुपैयाँ ४९ पैसाले घटेर २ हजार ४७६ रुपैयाँ ७५ पैसा पुगेको छ । आज न्यादी हाइड्रोपावरको सेयर मूल्य पनि २७ रुपैयाँ ८६ पैसाले घटेर ५७० रुपैयाँ ७२ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.६५ प्रतिशतले कम हो ।