
कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएका छन् । विगत १५ वर्षदेखि उनले बगरमा तरबूजाखेती गर्दै आइरहेका हुन् ।
माघमा रोपेको तरबूजा चैतको अन्तिम हप्तादेखि बिक्रीका लागि तयार हुन्छ । ‘पहिला साइकल र गोरुगाडामा राखेर गाउँगाउँ डुलाएर गहुँसँग साट्दै तरबूजा बिक्री गर्नु पर्दथ्यो’, उनले भने, ‘हाल अटोमा राखेर सिधै महेन्द्रगर, झलारी, अत्तरियालगायत बजारमा लगेर बिक्री गर्छौँ, तरबूजा बिक्री गरेको पैसा हातोहात पाइन्छ ।’ बगरमा तरबूजा खेती गर्न वडा नं ३ का जोनापुर, पिपलाडीका बासिन्दा मात्रै संलग्न छैनन् । वडा नं ४ असैनाका स्थानीय बासिन्दाले पनि तरबूजा लगाएका छन् । उनीहरुले बगर बराबर भागबण्डा गरी तरबूजा, लौका, काँक्रा, फर्सीलगायत लहरे बाली लगाउने गर्छन् ।
एक परिवारलाई भागमा चार कठ्ठादेखि पाँच कठ्ठासम्म परेको स्थानीय बुधराम चौधरीले बताए । भागमा परेको बगरमा तरबूजालगायत खेती गरी प्रत्येक परिवारले एक सिजनमा रु एक लाखदेखि रु एक लाख २० हजारसम्म आम्दानी गर्दै आएका छन् । बगरमा माघको पहिलो हप्तादेखि तरबूजा, लौका, काँक्रा रोप्ने गरिन्छ । ‘फागुनदेखि नै काँक्रा र लौका बेच्न सुरु गर्छौँ’, लालु चौधरीले भने, ‘तरबूजा बेच्न भने चैतको अन्तिम हप्तासम्म पर्खिनुपर्ने हुन्छ ।’
बगरमा उत्पादित लौका, काँक्रा, तरबूजा जोगाउन निकै सास्ती खेप्नुपर्ने अवस्था छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको स्याली नदीमा बगर खेती गरिएकाले जङ्गली जनावरले हरानी दिने गरेको लालुले बताए । उनीहरु माघदेखि नै झोपडी बनाएर बगरमा बस्ने गरेका छन् । ‘बगरमा लगाएका विरुवा हुर्काउन सिँचाइ गर्ने, मल राख्ने, गोडमेल गर्ने, छेकवार निर्माण गर्नमै दिन बित्ने गरेका छन’, अर्का स्थानीय छल्ली चौधरीले भने, ‘रातिका बेला जङ्गली जनावरबाट बिरुवा र त्यसमा लागेका फलहरु जोगाउन रखवारी गर्नुपर्ने हुन्छ ।’
अझै पनि किसानलाई यी खेतीका लागि बीउ खरिद गर्न भारतीय बजारकै भर पर्नुपर्ने अवस्था छ । अरु किसानलाई अनुदान दिए जस्तै बीउ, रासायनिक मल, कीटनाशक र सिँचाइ गर्ने साधनमा अनुदान दिनुपर्ने उनीहरु बताउँछन् । भारतीय नागरिकले बगरमा गरेको खेती हेरेर यहाँका किसानले खेती थालेका हुन् । बगर खेतीको आम्दानीले वर्षभरिको घरायसी खर्चसँगै बालबालिकाको विद्यालय खर्च धानिँदै आएको स्थानीय हिंगलाल चौधरी बताउँछन् । ‘१५ वर्षदेखि बगरमा खेती गर्दै आएका छौँ’, उनले भने, ‘सहयोग कतैबाट पाइएको छैन, आफ्नै बलबुतामा खेती गर्दै आएका छौँ ।’ स्याली, सनवोरा, दोदा नदीको बगरमा खेती गर्ने किसानको सङ्ख्या दुई सय बढी छन् ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू