
काठमाडौं । नेपाल पर्यटन बोर्डले नयाँ गन्तव्यको खोजी र प्रचारका लागि युवा पुस्तालाई जोडिरहेको छ । मुलुकको पर्यटन प्रबद्र्धनका लागि नयाँ गन्तव्यको वैभव र विशेषतालाई उजागर गर्न युवा पुस्तालाई जोड्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले मंगलबार काठमाडौंमा ‘कनेक्टिङ कन्टेन्ट क्रियटर विथ प्याकेज क्युरेटर’ कार्यक्रम गरेको हो ।
बोर्डले पर्यटकीय उपज उत्पादनकर्ता र पर्यटन व्यवसायीलाई एउटै थलोमा राखेर नयाँ गन्तव्यको प्रवद्र्धनका लागि प्रोत्साहित गरेको हो । यस कार्यक्रममा सुदूरपश्चिमको अपि हिमालदेखि सुदूरपूर्वको मुन्धुम ट्रेलसम्म पर्यटकीय गन्तव्यको भिडियो प्रस्तुती गरिएको थियो । जसमा सातै प्रदेशका प्रचार र प्रबद्र्धन हुन नसकेका गन्व्यहरुको भिडियो सामग्री प्रस्तुत गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले विद्यमान पर्यटन प्रवद्र्धन र प्रचारका नयाँ पुस्तालाई जोडेर प्रविधिको भरपूर उपयोग गर्नुपर्ने बताएका छन् ।
‘लामो इतिहास भएको पर्यटन क्षेत्रको प्रचार गर्दा पुरानै र सीमित गन्तव्यको मात्रै प्रचार भइरहेको छ । पछिल्लो दशकमा विश्वमा पर्यटनको ट्रेन्ड परिवर्तन भइरहेकोले हामीले पनि नयाँ गन्तव्यहरुको खोजी र प्रचारको नयाँ शैली अवलम्बन गर्नुपर्ने भएको छ,’ उनले भने । अहिले देशभरबाट विभिन्न समूह र व्यक्तिगत तवरबाट युवा पुस्ताले घुमफिर गर्ने र नयाँ गन्तव्यको खोजी गरिरहेको सन्दर्भ उल्लेख गर्दै सीईओ जोशीले थपे, ‘देशभरका सातै प्रदेशमा ’कन्टेन्ट क्रियटर’हरुको रुपमा लागिरहनुभएका युवा पुस्ताले खोजी गरेका दूरदरजका वैभवता र विशेषताहरुलाई प्रचार र प्रवद्र्धन गरिरहनुभएको छ । उहाँहरुलाई पर्यटकीय उपज उत्पादकसँग जोड्नका लागि यो कार्यक्रम आयोजना गरिएको हो ।’
सीईओ जोशीले आगामी दिनमा पर्यटन प्रबद्र्धनमा नयाँ रणनीतिका साथ अघि बढ्नुपर्ने र घुमफिर गरिरहेको युवा पुस्तासँगसँगै काम गर्न पर्यटन बोर्ड खुला रहेकोसमेत बताएका छन् । उनले थपे, ‘हामी कन्टेन्ट क्रियटरहरुसँग मिलेर पर्यटनलाई रिइम्याजिन गर्न प्रतिबद्ध छौँ ।’ कार्यक्रममा लेखक तथा हिमाल मिडियाका प्रकाशक सम्पादक कनकमणि दीक्षितले कार्यक्रममा सहभागी पर्यटन उपज उत्पादक र कन्टेन्ट क्रियटरहरुलाई गुणस्तरीय पर्यटन विकासमा लाग्न प्रेरित गरेका छन् ।
उनले भने, ‘पर्यटन प्रवद्र्धनका लागि हाम्रो परम्परागत शैली परिवर्तन गरेर जानुपर्ने थियो। बोर्डले यो जमर्को गरेको सकारात्मक संकेत हो । अब हामीले हामीसँग हिमाल छ, सगरमाथा छ भनेर मात्र नपुग्ने भएकोले सांस्कृति र अन्य प्राकृतिक वैभवताबारे पनि प्रचार गर्न आवश्यक छ । यसका लागि देशभरमा युवा पुस्ताले व्यक्तिगतरुपमा काम गरिरहेको भए पनि पर्याप्त हुन सकेको छैन । यसलाई व्यवस्थितरुपमा सरोकारवाला निकायले मिलेर अघि बढ्नुपर्दछ ।’
कार्यक्रममा कोशी प्रदेशबाट मनोज आचार्य, मधेश र बागमती प्रदेशबाट मनिष रुचाल, गण्डकी प्रदेशबाट हेमन्त भण्डारी, लुम्बिनी प्रदेशबाट पल्लव पण्डित, कर्णाली प्रदेशबाट सिर्जना ओली (सिर्जना सिज्जु) र सुदूरपश्चिम प्रदेशबाट हेमन्त राईले सम्बन्धित प्रदेशका नयाँ पर्यटकीय गन्तव्यको खोजी, सम्भावना र प्रचारको अवस्थासहित भिडियो सामग्री प्रस्तुत गरेका हुन् । यसका साथै कार्यक्रममा कन्टेन्ट क्रियटर र प्याकेज क्युरेटरबीच अन्तक्र्रियासमेत गरिएको थियो ।












समाचार
किस्ट र मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया सम्पन्न
भरतपुर अस्पतालमा सेवाग्राहीसँग शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण
सुदूरपश्चिममा साउनमा सवारी साधन कारबाहीबाट ४३ लाख राजस्व सङ्कलन
गिनीमा फोहोरको थुप्रो खस्दा ३० जनाको मृत्यु
बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
ठमेल प्लाजा होटलले डाक्यो भदौ ३१ गते साधारण सभा, के-के छन् एजेन्डा ?
बार्सिलोनाको सानदार सुरुआत
भेन्चर हायर पर्चेज लिमिटेड
मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै