फिदिम । मेची राजमार्गको पाँचथर खण्ड अन्तर्गतको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भत्किँदा घाइते भएका तीन मजदुरको मृत्यु भएको छ । बाराको सिमरा उपमहानगरपालिका–१२ निवासी २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरीको मृत्यु भएको हो ।
बेलिब्रिज भत्किएपछि गम्भीर घाइते भएका उनीहरूलाई पाँचथर अस्पतालबाट थप उपचारका मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । बाँकी घाइते तीन जनाको उपचार भइरहेको छ ।
गत वर्ष असोज १२ गते आएको बाढीले यहाँको बेलिब्रिज बगाएपछि यहाँ पुनः जडानको काम भइरहेको थियो । जडान नसकिँदै बेलिब्रिज खसेको हो ।