
भोजपुर । कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका वडा नम्बर ८ का रेवतीरमण थापा कृषि व्यवसायमा लागेका छन् । वैदेशिक रोजगारीको शिलशिलामा १० वर्ष कोरियामा बिताएका थापा व्यावसायिक खुर्सानीखेतीमा जुटेका हुन् ।
भोजपुर नगरपालिका–१२ टक्सारमा ४० रोपनी जग्गा भाडामा लिएर व्यावसायिक कृषि गरिरहेको थापाले बताए । कोरियामा देखेको खेती प्रविधिको सीपलाई उपयोग गर्दै यहाँ नै व्यावसायिक अकबरे खुसार्नीखेती गरिरहेको उनको भनाइ छ । आफूले भाडामा लिएको जमिनमा १० हजार अकबरे खुर्सानीका बिरुवा विस्तार गरेको उनले जानकारी दिए ।
‘वैदेशिक रोजगारीको शिलशिलामा १० वर्ष कोरियामा बिताए,’ कृषक थापाले भने, ‘त्यहाँ मेरो कमाइ राम्रै थियो, तर आफ्नै ठाउँमा कृषिमा उदाहरणीय बन्ने सोचले अहिले कृषि व्यवसायमा जुटेको छु ।’ खुर्सानीखेतीबाट वार्षिक रु आठदेखि रु १० लाख आम्दानी गर्ने मेरो लक्ष्य रहेको उनको भनाइ छ । गत वर्षको झै खुर्सानीले मूल्य पाएको खण्डमा लक्ष्यअनुसारको आम्दानी लिन समस्या नरहेको उनको भनाइ छ । युवामा विदेशप्रतिको मोह बढिरहेको अवस्थामा कृषिबाट पनि राम्रो आम्दानी लिन सकिन्छ भन्ने सावित गर्न स्वदेश फर्केर कृषि कर्म रोजेको उनले बताए ।
‘हामी धेरै स्वदेशको महत्व नबुझेर पनि विदेश गइरहेका छौँ’, उनले भने, ‘विदेशमा गर्ने दुःख आफ्नै माटोमा गर्न सक्ने हो भने कृषिबाट पनि राम्रो आम्दानी लिन सकिन्छ ।’ व्यवसायमा लाग्ने कृषकलाई अनुदानमा रकमभन्दा पनि आधुनिक औजार तथा उपकरणमा राज्यले सहयोग गर्न आवश्यक रहेको उहाँको भनाइ छ । युवा विदेशिएको कारण गाउँघरका धेरै खेतीयोग्य जमिन बाझिँदै गएकाले यसको सदुपयोगमा राज्यले ध्यान दिन आवश्यक रहेको उनले बताए ।
आफ्नै ठाउँमा व्यावसायिक बनेर कृषि कर्म गर्न सकेमा स्वदेशमा नै विदेशको भन्दा राम्रो आम्दानी लिन सकिने उनले सुनाए । राज्यका सबै तहको सहयोगका कार्यक्रम वास्तविक किसानसम्म पुग्न आवश्यक रहेको उनको भनाइ छ । ‘स्वेदशमा उद्यम गर्छु भन्ने युवालाई व्यावसायिक योजनाको आधारमा राज्यले सहयोग गर्न आवश्यक छ’, उनले भने, ‘पहुँचको भरमा राज्यका कार्यक्रम सञ्चालन हुने प्रथाले वास्तविक किसान मारमा परेको अवस्था पनि छ, यसमा सरोकारवाला पक्षले ध्यान दिन जरुरी देख्छु ।’
गत वर्ष परीक्षणको रुपमा लगाएको दुई हजार बोट खुर्सानीबाट रु तीन लाख आम्दानी गर्न सफल भएको उनले बताए । खुर्सानीबाट राम्रो आम्दानी हुने भएपछि यस वर्ष १० हजार बिरुवा रोपेको कृषक थापाको भनाइ छ । आगामी वर्ष यसलाई थप विस्तार गरेर ४० देखि ५० हजार बिरुवा विस्तार गर्ने सोच रहेको उनले बताए । कोरियामा त्यहाँको मलिकले बस्नु अनुरोध गर्दा पनि आफ्नै ठाउँमा कृषि कर्म गर्ने अठोटका साथ नेपाल फर्किएको उनको भनाइ छ ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह