
तनहुँ । बन्दीपुर गाउँपालिका–२ कुवादीका ६ वर्षीय उत्सव गुरुङको चितुवाको आक्रमण परी मृत्यु भएको नौ दिन बितिसक्दा पनि चितुवालाई नियन्त्रणमा लिन सकिएको छैन । गत जेठ २६ गते साँझ आफ्नै घरआँगनमा खेल्दै गरेको अवस्थामा चितुवाले आक्रमण गरी बालकको ज्यान लिएपछि सिद्धथान सामुदायिक वनमा बाख्रासहितका पाँचवटा खोर राखेर पासो थाप्ने काम गरेको छ ।
चितवन राष्ट्रिय निकुञ्जका भेटेरिनरी प्राविधिक दिनेश ढकाल, राष्ट्रिय प्राकृतिक संरक्षण कोषका किरणराज रिजाल र वन्यजन्तु प्राविधिक थिरुलाल थारूको डार्टिङ टोलीले त्यस क्षेत्रमा निगरानी बढाइरहेको छ । डार्टिङ टोलीले चितुवा भेटेको अवस्थामा बेहोस बनाएर अन्यत्र स्थानान्तरण गर्ने योजना रहेको डिभिजन वन कार्यालयका वन अधिकृत तथा सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, ‘डार्टिङ टोलीले चितुवाको पदमार्ग र दिशा भेटिएकाले छिट्टै नियन्त्रणमा लिन सकिनेमा विश्वस्त रहेको जनाएका छन् ।’
बन्दीपुरमा चितुवा आक्रमणमा परी चालु आर्थिक वर्षको साउनदेखि यता ११ महिनाको अवधिमा तीन बालबालिकाले ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउने बालक दुई र एक बालिका रहेका छन् । डिभिजन वन कार्यालयका अनुसार २०७४ फागुन ९ गतेदेखि आठ वर्षको अवधिमा १२ बालक र पाँच बालिकाले ज्यान गुमाइसकेका छन् ।
जिल्लाका भानु, बन्दीपुर, आँबुखैरेनी, व्यासलगायतका पालिकामा चितुवाको आक्रमणले मानवीय क्षति भएको छ । चितुवाको आक्रमणबाट आठ वर्षको अवधिमा २१ जना घाइते भएका छन् । घटना भएपछि स्थानीयवासीलाई साँझपख घरबाहिर ननिस्कन र सतर्कता अपनाएर बस्न तथा चितुवा देखिए तुरुन्त सम्पर्क गर्न स्थानीयलाई आग्रह गरिएको डिभिजन वन कार्यालयले आग्रह गरेको छ । चितुवाले पुनः आक्रमण गर्ने सम्भावना रहने हुँदा नियन्त्रणमा लिनका लागि सोही ठाउँ आसपासमा पासो राखिएको अर्का वन अधिकृत नवीन विश्वकर्माले बताए । चितुवाका लागि सिकार गर्ने अनुकूल समय साँझपख हुने भएकाले घरबाहिर निस्कन नहुने र बालबालिकालाई एक्लैदुक्लै छाड्न नहुने विश्वकर्मा बताउँछन् ।
साँझमा सिकार खोज्ने चितुवाले मृग, कुकुर वा गाईवस्तुका बाछाबाछी नभेट्दा बालबालिका निशानामा पर्ने जोखिम अत्यधिक हुने भएकाले सतर्कता अपनाउन सबैमा आग्रह गरिएको कार्यालय प्रमुख शरदकुमार अधिकारीले बताए ।













समाचार
एनपीसीआई इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै
४० प्रतिशत स्वास्थ्य संस्थामा मात्र आधारभूत सरसफाइ
महासंघका अध्यक्ष श्रेष्ठ र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजक याहियासँग भेटवार्ता
अमेरिकाद्वारा युद्धविराम लम्ब्याउने सम्भावना अस्वीकार, ईरानद्वारा नयाँ आक्रामक रणनीति अपनाउने धम्की
वैदेशिक रोजगारीमा जान साउनमा ७० हजारले लिए श्रम स्वीकृति
प्रधानमन्त्री बालेन र भारतका स्थल सेनाध्यक्ष बीच भेटे
महिनामा २ पटक तलब भुक्तानी गर्न महालेखा नियन्त्रक कार्यालयले जारी गर्यो परिपत्र
धितोपत्र बोर्डमा चार कम्पनीले दिए आईपीओ जारी गर्न निवेदन
महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच भेटवार्ता, नेपाल-चीन आर्थिक सम्बन्धलाई व्यापार र लगानी साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड
सेयर बजार परिसूचक १९ अंकले घट्यो, कारोबार पनि घट्यो