
बागलुङ । ‘हाइब्रिड’ बीउबिजनले कृषि क्षेत्रका पुराना जातहरु लोपजस्तै भएका छन्। रैथाने बाली संरक्षणका लागि थोरै मात्र कार्यक्रम आएका छन् । यसै सन्दर्भमा बागलुङ नगरपालिका–१३ बलेवाको पैयुँपाटाले रैथाने धान संरक्षण गर्ने किसानलाई अनुदान दिने भएको छ ।
किसानको उत्पादनको आधारमा वडाले अनुदान कार्यक्रम घोषणा गरेको हो । वडा कार्यसमितिले निर्णय गरेर रैथानेका लागि तोकिएका पाँच थरी धानको उत्पादनलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको हो । आगामी आर्थिक वर्षको बजेटबाट प्रतिमुरी एक÷एक हजार रूपैयाँ अनुदान दिइने वडाध्यक्ष नारायण शर्मा पौडेलले बताए । वडा समितिले रैथाने जातमध्येबाट अनादी, झिनुवा, रमनी, जर्नेली र आँगा जातको धान लगाउने किसानलाई वडाले अनुदान दिन लागेको हो । आगामी मङ्सिरमा किसानको खेतमै पुगेर धान भरेपछि नगद हातमा राख्ने गरी बजेट समेत विनियोजन गरिएको पौडेलले जानकार दिए ।
‘तोकिएको धान लगाएका किसानले असार साउनमै सूचना दिनुहुन्छ, त्यसको रेकर्ड पनि वडाले राख्छ’, पौडेलले भने, ‘वडा समितिका पदाधिकारीकै उपस्थितिमा किसानको धान थन्क्याउने योजना पनि बनाइन्छ ।’ एकै दिन धेरै किसानको धान थन्क्याउने अवस्था आइपरेमा वडा समितिले टोल विकास समितिलाई पनि काममा खटाउन सक्नेछ । लोपोन्मुख धान भएकाले जोगाउन यो विधि र नीति लागू गर्न लागेको उनले बताए। पहिलो चरणमा किसानलाई अनुदान दिन वडाले ५० हजार रूपैयाँ विनियोजन गरेको हो ।
यसअघि केही किसानले मात्रै परम्परागत धान उत्पादन गर्दै आएका छन् । हाइब्रिडले रैथानेको बीउ मासिन सक्ने अवस्था आएपछि संरक्षणका लागि पनि यो निर्णयमा वडा समिति पुगेको हो । यो निर्णयलाई नगरपालिकाले पनि गज्जबको भएको बताएको छ । ‘उत्पादन पनि बढाउने, रैथाने बाली पनि जोगाउने व्यवस्थामा साथ दिनुपर्छ’, नगरप्रमुख वसन्तकुमार श्रेष्ठले भने, ‘कृषि पेसा गरेको किसान खुसी बन्ने वातावरण बनाउने प्रयासमा छौँ ।’ धेरै उत्पादन गरेका किसानको धान नगरपालिकाले पनि बजारीकरणमा साथ दिने उनले बताए ।
वडा नं १३ ले १४० घरधुरी रहेको मुसुराबारीको दलित बस्तीमा प्रतिघर न्यूनतम पाँच वटा सुन्तला र कागतीको बिरुवा लगाउनेलाई सहयोग पनि गरेको छ । चालु वर्षको ५० हजार रकमले बिरुवा किनेर किसानलाई दिएको हो । वडाले गत वर्षदेखिनै रासायनिक मल ढुवानीमा प्रतिकेजी दुई रूपैयाँ अनुदान दिँदै आएको छ ।
पशुपन्छीको औषधि निःशुल्क वितरण, ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई नगर अस्पतालमा निःशुल्क औषधि उपचारको व्यवस्था पनि गराएको हो । यसबाहेक गर्भवतीले गर्भजाँच गर्न आउँदा हरेक पटक एक÷एक क्रेट अण्डा समेत दिने व्यवस्था गराएको छ । वडाले पोषणमैत्री कार्यक्रम सञ्चालनमा ल्याएको छ ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम