
सिराहा । लहान नगरपालिका–१२ स्थित भोटियाटोलमा श्रमिक महिलाको सशक्तिकरणका लागि ‘श्रमिक भवन’ निर्माण कार्य सुरू गरिएको छ । महिला श्रमिकको पहिचान, आत्मसम्मान र अधिकार प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण हुने यो भवनको आज एक समारोहबीच शिलान्यास गरिएको हो ।
१६ लाख ४४ हजार रुपैयाँको लागतमा निर्माण हुन लागेको भवन ‘एक्सन एड’ नेपाल र दलित जनकल्याण युवा क्लब लहानको साझेदारीमा निर्माण हुनेछ । आगामी डिसेम्बर ३१ सम्म निर्माण सम्पन्न हुने जनाइएको छ । भवनको शिलान्यास लहान नगरप्रमुख महेशप्रसाद चौधरी, वडा नं १२ का वडाध्यक्ष बद्रीनारायण चौधरी तथा क्लबका कार्यकारी निर्देशक विनोद विसुङ्केले संयुक्त रूपमा गरेका हुन् ।
कार्यक्रममा दलित जनकल्याण युवा क्लबका कार्यकारी निर्देशक विनोद विसुङ्केले लहानमा श्रमिक महिलाको उल्लेखनीय उपस्थिति रहेकाले उनीहरूका लागि छुट्टै भवनको आवश्यकता महसुस भएको बताए । ‘हिंसारहित वातावरणमा काम गर्न, न्यायोचित ज्यालाको माग गर्न तथा विभिन्न तालिम, गोष्ठी सञ्चालन गर्न यो भवन उपयोगी हुनेछ,’ उनले भने । वडाअध्यक्ष बद्रीनारायण चौधरीले श्रमिक महिलाको सुरक्षाको सवालमा वडा कार्यालय तथा नगरपालिकाले संवेदनशीलता देखाउँदै आएको बताए । उनले लहानमा पहिलोपटक श्रमिक महिलाका लागि भवन बन्न लागेकामा खुसी व्यक्त गरे ।
नगरप्रमुख महेशप्रसाद चौधरीले भविष्यमा यही भवनमा सीपमूलक तालिम, कानुनी साक्षरता कार्यक्रम र महिला नेतृत्व विकासका कार्य सञ्चालन सहज हुने भन्दै नगरपालिका त्यसमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘महिला श्रमिकको हक, सुरक्षा र सशक्तिकरणका लागि लहान नगरपालिका सधैँ प्रतिबद्ध रहन्छ । भविष्यमा पनि यस्ता कार्यक्रमलाई प्राथमिकता दिइनेछ,’ उनले भने ।
कार्यक्रममा उपस्थित श्रमिक महिलाले भवनमा सञ्चालन हुने सीपमूलक तालिमले वैकल्पिक आयआर्जन पनि गर्न सहयोगी हुने विश्वास व्यक्त गरेका छन् । भवन निर्माणका लागि लहान नगरपालिका–१२ स्थित शिव मन्दिर छेउको सार्वजनिक जमिन नगरपालिकाले प्रदान गरेको हो ।












समाचार
‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’
मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन आह्वान
एक वर्षमा ३३३ उद्योग दर्ता
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु,एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
सुदूरपश्चिम प्रदेश सरकारको अपिलः सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राखौँ
अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड कारोबार वृद्धि
‘ब्रड पिक’ हिमपहिरो: आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि
सवारी दुर्घटना गराउने आधाभन्दा बढी चालक २५ देखि ४० वर्ष उमेर समूहका