काठमाडौं । साविक विजेता इंग्ल्याण्डले युइएफए महिला युरोको फाइनल पुगेको छ । फेरि एक पटक अविश्वसनीय पुनरागमनका साथ अतिरिक्त समयमा इटालीलाई २–१ ले हराउँदै इंग्ल्याण्ड उपाधि नजिक पुगेको हो ।
मिचेल अजेमेंगले इन्जुरी समयको छैंटौं मिनेटमा बराबरी गोल गर्दै इंग्ल्याण्डलाई खेलमा कायम राखिन् । अतिरिक्त समयको एक मिनेट बाँकी हुँदा अर्की विकल्प खेलाडी क्लोइ केलीले गरेको गोल खेलको निर्णायक बन्यो । आफैले प्रहार गरेको पेनाल्टीको रोकेपछि रिबाउन्ड केलीले गोलमा गर्दै टोलीको फाइनल यात्रा तय गराइन् ।
स्विजरल्याण्डमा वैकल्पिक खेलाडीले फेरि एक पटक उच्च प्रदर्शन गर्दा सारिना विगम्यानको टोलीले आफ्नो उपाधि रक्षा गर्ने योजनाबाट एक कदम मात्रै टाढा रहेको छ । १९ वर्षिय अजेमेंगले प्रतियोगितामा दोस्रो गोल गरेकी हुन् । दुबै पटक बेन्चबाट मैदान छिरेर उनले गोल गरेकी हुन् । उनले गोलकिपर लारा जुलियानीलाई छकाउँदै गोल गरिन् ।
३३ औं मिनेटमा बारबरा बोनान्सियाले गोल गर्दै इटालीलाई अग्रता दिलाएकी थिइन् । त्यसपछि इंग्ल्याण्डकी प्रशिक्षक विगम्यानले आफ्नो भरपर्दो बेन्च खेलाडीमा भरोसा गरिन् । उनीहरुले अपेक्षाअनुसार प्रदर्शन गरे । फाइनल खेल आइतवार बासेलमा हुनेछ । जहाँ इग्ल्याण्डले जर्मनी वा स्पेनसँग फाइनल खेल्नेछ ।