काठमाडौं । मंगलबार सेयर बजार परिसूचक ४ वर्ष यताकै उच्च विन्दुमा पुगेको छ । साताको सेयर कारोबार हुने तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेर ३ हजार बिन्दुमाथि पुगेको हो ।
आज परिसूचक ३० दशमलव ७६ अंकले बढेर ३००२ दशमलव ०७ विन्दुमा पुगेको हो । यस अघि सेयर बजार २०७८ भदौ १३ गते ३०४४.८७ विन्दुमा पुगेको थियो । आज सेयर बजार अघिल्लो दिनको भन्दा १.०३ प्रतिशतले बढेको हो । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि आज ३.६६ अंकले बढेर ५१८ दशमलव ५९ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १० वटाको सेयर मूल्य बढेको छ भने ३ वटाको घटेको छ ।
परिसूचक दोहोरो अंकले बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिन १९ अर्ब माथिको कारोबार भएको बजारमा आज १८ अर्ब ५२ करोड ९३ लाख २२ शजार ८८५ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३२१ कम्पनीका ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता सेयर १ लाख ५७ हजार ५२५ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।
आज सेयर बजारमा चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।