
झापा । विर्तामोड नगरपालिका–७ का युवा प्रदीप खनाललाई एक सातायता फार्ममा फलेको बोडी टिप्न र बजार पु¥याउन भ्याइनभ्याइ छ । उनको एकल लगानी रहेको ‘हाम्रो कृषि फार्म’बाट दैनिक ५०० किलोग्राम बोडीको तरकारी उत्पादन हुन्छ । उत्पादित सबै बोडी विर्तामोड नगरपालिकाले प्रवद्र्धन गरेको सुपथ मूल्यका तरकारी पसलमा बिक्री हुने गरेको छ ।
भाडामा लिएको ४५ बिगाहा जग्गामध्ये १६ कट्ठामा खनालले बोडीखेती गरेका छन् । हाल आठ कट्ठामा फल लाग्न बाँकी नै र आठ कट्ठामा लहलह फलेको बोडी छ । सात वर्षअघि ठेक्कापट्टाको काम छाडेर एक कट्ठाबाट तरकारीखेती सुरु गरेका खनालले कृषि फार्म दर्ता गरेर व्यावसायिक रूपमा त्यसको विस्तार गरेका छन् । उनले बोटबाट टिपेको बोडी नगरपालिकाका सातवटा सुपथ मूल्यका पसलमा बिक्रीका लागि लैजाने गरिएको बताए । “पसलमा नगरपालिकाले तोकेको समर्थन मूल्यमा बिक्री हुने गरेको छ । यदि बजार भाउ खस्किएर कम मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता आयो भने नगरपालिकाले समर्थन मूल्य बराबरको रकम तिरिदिने भएकाले बजारको कुनै चिन्ता गर्नुपरेको छैन”, खनालले भने ।
हाल प्रतिकेजी बोडी रु ३० देखि रु १०० सम्ममा बिक्री भइरहेको छ । कहिलेकाहीँ भने मूल्यमा उतारचढाव आउने गरेको उनले बताए । नगरपालिकाले तरकारीमा विषादीको अवशेष जाँच गरेर मात्र पसलमा बिक्रीका लागि अनुमति दिने गरेको छ ।
वार्षिक एक करोड मुनाफा
खनालको कृषि फार्ममा २० बिगाहामा धानखेती छभने पाँच बिगाहामा विभिन्न प्रकारका तरकारी छन् । जसमध्ये १६ कट्ठामा बोडी, १५ बिगाहामा अम्बक, बयरलगायतका फलफूलखेती र चार बिगाहामा लौका, भिन्डी तथा खुर्सानी खेती गर्ने गरेको उनले जानकारी दिए । धान, तरकारी र फलफूलखेतीबाट वार्षिक रु एक करोड मुनाफा हुने खनालको दाबी छ । “प्रत्येक वर्ष आम्दानी बढ्दै गएको छ । मैले मात्र आम्दानी गरेको होइन । दर्जनौँ व्यक्तिले रोजगारी पाएका छन् । उपभोक्ताले पनि स्वदेशी र ताजा तरकारी खान पाएका छन् । यस वर्ष वार्षिक रु दुई करोडसम्म तरकारी बिक्री हुने अपेक्षा गरेको छु”, खनालले भने ।
उनले सुरुमा कृषिबाट यति धेरै आम्दानी हुन्छ होला भनेर विश्वास नगरेको सुनाए । “एउटै अम्बक आधा केजीसम्मको फल्न थालेको छ । हाल आफ्नै देशमा व्यावसायिक कृषि कर्म गरेर ठिकै गरेछु भन्ने लागेको छ । फार्ममा २५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने दर्जनौँले मौसमअनुसारको खुद्रा काम पाउने गरेका छन्”, खनालको भनाइ छ ।
विर्तामोड नगरपालिकाले नगरलाई तरकारी र फलफूलमा आत्मनिर्भर बनाउन ‘पारिको होइन वारिको’ भन्ने अभियान नै सञ्चालन गरिरहेको छ । नगरको कृषि शाखाका प्रमुख राजेन्द्रप्रसाद कडरिया स्थानीय तरकारी उत्पादक कृषकहरु अभियानमा जोडिएका र भारतबाट तरकारीको आयात प्रतिस्थापन गर्न अभियानले मद्दत पु¥याइरहेको बताउँछन् । उनले भने, “नगरपालिकाले बोडीको समर्थन मूल्य प्रतिकेजी रु ३० तोकेको छ । उक्त मूल्यमा बिक्री नभए तौलको आधारमा घाटा पूर्ति रकम उपलब्ध गराउँदै आएका छौँ । यसमा मात्रै होइन अन्य उत्पादनमा पनि कृषकलाई प्रोत्साहन गर्ने हाम्रो नीति छ ।”













समाचार
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात
एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ
सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, १४ सय किलोमिटर सडक निर्माण
अमेरिकी आक्रमण भए निर्णायक जवाफ दिने तेहरानको चेतावनी
पुराणको रकमबाट घाट निर्माण
साढे १० लाख बढी कित्ता सेयर बिक्री गर्दै पञ्चकन्या पावर डेभलपमेन्ट
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
जीवन विकास लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल
कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन कार्यशाला गोष्ठी
नेष्डो समृद्ध लघुवित्तमा रोजारीको अवसर