
गोरखा । यस वर्षको शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर)मा मनास्लु हिमाल आरोहणका लागि २ सय २४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागबाट प्राप्त तथ्याङ्कअनुसार आठ हजार १६३ मिटर अग्लो मनास्लु आरोहणका लागि विभिन्न मुलुकका १७ टिमका दुई सय २४ जनाले अनुमति लिएका हुन् । यो तथ्याङ्क शुक्रबारसम्मको हो ।
विभागका अनुसार एक सय ६९ पुरुष र ५५ महिलाले मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका छन् । उनीहरूबाट नौ करोड ४३ लाख २२ हजार ८६० रुपैयाँ राजस्व सङ्कलन भएको छ। यो सिजनमा सबैभन्दा धेरै आरोहीले मनास्लु आरोहण गर्ने गरेका छन् । शुक्रबारसम्म सगरमाथा आरोहणका लागि जम्मा एक जनाले मात्र अनुमति लिएका छन् । ल्होत्से आरोहणका लागि दुई जनाले मात्र अनुमति लिएका छन् ।
अरु आरोहीहरूले आठ हजार मिटरभन्दा कम उचाइका हिमाल आरोहणको अनुमति लिएका छन् । तथ्याङ्कअनुसार सात हजार ८५५ मिटर अग्लो नुप्त्से आरोहणका लागि ११ जनाले अनुमति लिएका छन् । छ हजार ३९५ मिटर अग्लो ल्यायुल आरोहणका लागि १५ जनाले अनुमति लिएका छन् । गत वर्षको यही सिजनमा चार सय एक जनाले मनास्लु हिमाल आरोहणको अनुमति लिएका थिए। अहिले मनास्लु हिमालमा रोप फिक्सिङ (डोरी टाँग्ने) काम भइरहेको स्थानीय चुमनुब्री गाउँपालिका–१ सामागाउँका वीरबहादुर लामाले जानकारी दिए। साथै आरोहीहरू सामागाउँमा आइपुग्न थालेका छन् । यहाँ लमजुङ, मनाङ हुँदै लार्केपास गरेर आउने आरोहीको सङ्ख्या धेरै हुने गर्छ । कोही हेलिकप्टरबाट पनि आउने गर्छन् ।
विभागको तथ्याङ्कमा सबैभन्दा धेरै आरोही चीनका ४३ जनाले अनुमति लिएका छन् । पोल्याण्डका २५, रुसका २३, नेपाली आरोही २३, अमेरिकाका १६, जापानका १३, फ्रान्सका १२ क्यानडाका १० आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका निर्देशक एवं सूचना अधिकारी लीलाधर अवस्थले शरद ऋतुका लागि अनुमति लिन आउने आरोहीहरू विस्तारै बढ्ने बताए । ‘बल्ल सिजन सुरु भएको छ । अब केही दिनमै धेरै आरोहीहरू अनुमति लिन आउँछन् ।’ यसअघि गत वर्ष यो सिजनमा मनास्लु आरोहणका लागि चार सय एक जनाले अनुमति लिएका थिए ।













समाचार
सिक्टा सिँचाइ : २० वर्षमा २४ अर्ब रुपैयाँ खर्च, ५१ प्रतिशत भौतिक प्रगति
युद्धको छायामा ब्रिक्स शिखर सम्मेलन, चिनियाँ राष्ट्रपति सी भारतमा
प्लेस्टेशनले १८ वर्षमाथिका लागि बनाएको वुल्भरिन गेम जोखिमपूर्ण दाउ हो, सफल होला?
अनलाइन सट्टेबाजी खेल्ने/खेलाउने तीन जना पक्राउ
हिमालीविपद् सामना गर्न नेपाल–चीन सहकार्य आवश्यक : चिनियाँ राजदूत झाङ
बाढीका कारण बैंकका १७ वटा शाखा प्रभावित, ७२.४ करोडको क्षति
दुई दिनमा भारतबाट ३ लाख ४५ हजार सिलिन्डर ग्यास आयात
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
प्याब्सनद्वारा विपद् राहत कोषमा १२ करोड सहयोग, पाँच विद्यालयका लागि २ करोड
नेपाल पर्यटन बोर्डको सीईओका लागि दरखास्त आह्वान