
पाल्पा । पाल्पाको डुम्रेकी रमिता विकले तानसेनमा तरकारी र फलफूल बेचेर जीविकोपार्जन गर्दै आएकी छिन् । “बिहानै गाउँबाट तरकारी ल्याएर छोरालाई खाना पकाएर खुवाएपछि डोको बोकेर निस्कन्छु”, नारायणस्थानमा तरकारी बेच्दै गरेको अवस्थामा भेटिएकी उनले भनिन्, “दिनभरि बजार डुलाएर तरकारी, फलफूल बेच्छु । त्यही कमाइले छोराको पढाइ खर्च र बिहान बेलुका हातमुख जोड्छु, यो मेरो दैनिकी यही हो ।”
मदन पोखराकी सीता कुमाल पनि सिजनमा तरकारीको भारी बोकेर तानसेन बजार पुग्ने गर्छिन् । उनी बारीमा उत्पादित तरकारी बजारमा बिक्रीका लागि आफ्ना दौँतरीसँग बिहान ६ बजे गाउँबाट निस्किन्छिन् । ‘तरकारी आयो तरकारी आयो’ भन्दै टोलटोल पुग्छिन् । “दिनकै हिँडेर तरकारी बेच्नु दुःख कष्ट त छ”, उनले भनिन्, “तर, गुजारा गर्न यत्ति गर्नै पर्यो ।”
तानसेन नगरपालिका–११ बाँझाकी ३८ वर्षीया राधिका खाँती पनि दिनहुँ जसो घरबाट तरकारी ल्याएर तानसेनस्थित शीतलपाटी नजिकै मन्दिर छेउमा बसेर बिक्री गर्छिन् । तरकारी बिक्री गरेर आएको पैसाले सहज रूपमा उनको घरको खर्च चलेको छ । “आम्दानीको स्रोत नहुँदा केही समय अघिसम्म घर खर्च चलाउन निकै गाह्रो थियो”, उनले भनिन्, “घर खर्चका लागि श्रीमानको मुख ताक्नु पर्दथ्यो । तरकारी बेच्न थालेपछि श्रीमान्बाट घर खर्च माग्नु परेको छैन ।”
खाँती आफैँले फलाएको र केही अन्य किसानले उत्पादन गरेको तरकारी सङ्कलन गरी तानसेनमा ल्याएर बिक्री गर्दै आएकी हुन् । खाँतीले तरकारी बेचेर अहिले मासिक लाखौँ रुपैयाँ कमाउन थालेकी छिन् । मेहनत गरेमा किसानले आफ्नै बारीमा सुन फलाउन सक्छन् भन्ने उदाहरण उनी बनेकाकी छिन् । लकडाउनपछि शीतलपाटी सडक नजिकैको मन्दिर आसपासमा बसेर खाँतीले ताजा तरकारी र फलफूल बिक्री गर्दै आएकी हुन्। उनले तरकारी बिक्रीबाट दैनिक दुई हजारदेखि पाँच हजारसम्म आम्दानी हुने जानकारी दिइन् । तरकारी बिक्रीबाट भएको आम्दानीले छोराछोरीलाई पढाउन, खर्च खर्च तथा चार जनाको परिवार चलाउन सहज भएको उनको भनाइ छ ।
खाँतीलाई श्रीमानले तरकारी सङ्कलनमा दैनिक सहयोग गर्दै आएका छन् । “तरकारी बजारसम्म ल्याएर बेच्न सुरुसुरुमा लाज लागेको थियो”, उनले भनिन, “अहिले आफ्नो पेसा व्यापार हो भन्ने बुझेकी छु । अब सकुन्जेल यही काम गर्ने हो ।” राधिकाका अनुसार अग्र्यानिक तरकारी किन्ने ग्राहकको यहाँ दैनिक भीड लाग्ने गर्दछ । प्रायः बजार गर्न आउने र अफिसबाट फर्कनेहरूले तरकारी किनेर लैजाने गरेको उनको भनाइ छ ।
राधिकाले झैँ आफ्नै बारीमा फलेका र अन्य कृषकद्वारा उत्पादित तरकारी बेचेर कुरुङखोलाकी जमुना बोहोराले पनि मनग्य आम्दानी गर्दै आएकी छिन् । उनले विगत डेढ दशकदेखि सडक पेटीमा तरकारी बेचेर घर खर्च चलाउँदै आएकी हुन् । उनले पनि दैनिक रु एक हजारदेखि रु तीन हजारसम्म आम्दानी गर्छिन् । उनीहरू मात्र होइन बजार आसपासमा रहेका धेरै महिला दैनिकजसो तरकारी बिक्रीका लागि बजारसम्म आउने गर्दछन्। तरकारी बिक्री गरेर आम्दानी भएको रकमले घर व्यवहार चलाउँदै आएको महिलाहरू बताउँछन् ।













समाचार
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि
करिब साढे १७ अंक घट्यो सेयर बजार, ६ अर्ब २८ करोडको कारोबार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?
यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज