जुम्ला । जुम्लामा यसवर्षको दसैँमा १० करोडभन्दा बढीको भेडा, खसीबोकाको कारोबार भएको छ । सदरमुकाम खलङ्गा बजारलगायत यहाँका स्थानीय तहमा भएको खसी, बोका तथा भेडा खरिद बिक्रीबाट यसवर्ष १० करोड रकम बराबरको कारोबार भएको चन्दननाथ नगरपालिकाअन्तर्गत पशुपक्षी विकास शाखाका प्रमुख वीरबहादुर रावतले जानकारी दिए ।
उनले भने, “कारोबार भएको उक्त रकममध्ये भेडातर्फ रु नौ करोड ३४ लाख ८८ हजार तथा रु ३७ लाख ४० हजारको खसी, बोका खरिद बिक्री भएको हो । चन्दननाथ नगरपालिकामा भने रु २६ लाख ७७ हजारको राँगा, भैँसीसमेत कारोबार भएको छ ।” यस वर्षको दसैँमा जुम्लामा पाँच हजार ८४३ वटा भेडा बिक्री भएको तथ्याङ्क छ । यसैगरी, २५६ खसी र ६३ राँगा, भैँसी खरिद बिक्री भएको छ । दसैँमा स्थानीय भेडाको अधिकतम मूल्य रु २३ हजार, न्यूनतम मूल्य रु नौ हजार र औसत मूल्य रु १६ हजार तोकिएको प्रमुख रावतले जानकारी दिए ।
त्यस्तै, खसीको अधिकतम मुल्य रु २२ हजार, न्यूनतम मुल्य आठ हजार र औसत मूल्य रु १५ हजार रहेको छ भने राँगो, भैँसीको अधिकतम मुल्य रु ६१ हजार, न्यूनतम मूल्य २४ हजार र औसत मूल्य रु ४२ हजार ५०० रहेको थियो । जुम्लामा मुगु, कालीकोट, दैलेख, बाजुरालगायत जिल्लाबाट खसी, भेडा, राँगा, भैँसी ल्याइएको थियो । गत वर्षको दसैँमा रु १६ करोड ३२ लाख ३१ हजार मूल्य बराबरका खसी, भेडा, राँगा, भैँसी खरिद बिक्री भएको चन्दननाथ नगरपालिका पशुपक्षी विकास शाखाले जनाएको छ ।
गत वर्षभन्दा यो वर्ष भेडा र खसीको मूल्य औसत रुपमा ३० प्रतिशतले घटेको यहाँका स्थानीय व्यापारी बताउँछन् । विसं २०६८ देखि तिब्बती भेडाच्याङ्ग्रा ल्याउन छाडेपछि यहाँ जुम्ली भेडा, खसीबोका मात्रै बिक्रीवितरण हुने गरेका छन् । स्थानीय पशु अस्पताल तथा पशुसेवा कार्यालयका अनुसार जुम्लामा ८८ हजार भेडा रहेका छन् ।