टि ट्वान्टीबाट पूर्व कप्तान विलियमसनको सन्न्यास

काठमाडौं । न्युजिल्यान्डका पूर्व कप्तान केन विलियमसनले टि ट्वान्टी आई क्रिकेटबाट सन्यास लिएका छन्। उनले आज सन्न्यासको घोषणा गर्दै अब टेस्ट क्रिकेटमा ध्यान केन्द्रित गर्ने बताएका । उनले वेस्ट इन्डिजविरुद्ध डिसेम्बरमा हुने ३ टेस्टको सिरिजमा खेल्नेछन्।

३५ वर्षीय विलियमसनले सन् २०११ मा जिम्बाबेविरुद्ध टि ट्वान्टीमा डेब्यू गरेका थिए। उनले करियरमा ९३ खेल खेलेका छन् । तीमध्ये ७५ खेलमा न्युजिल्यान्डको कप्तानी गरेका छन्। उनको नेतृत्वमा टोली २०१६ र २०२२ मा टि ट्वान्टी विश्वकपको सेमिफाइनल र २०२१ मा फाइनल पुगेको थियो।

विलियमसनले टि ट्वान्टी आईमा १८ अर्धशतकसहित २ हजार ५ सय ७५ रन बनाएका‌ छन् । २०२१ को विश्वकप फाइनलमा अष्ट्रेलियाविरुद्ध उनले ८५ रनको उत्कृष्ट इनिङ खेले पनि न्युजिल्यान्ड पराजित भएको थियो।  सन्न्यासको घोषणा गर्दै उनले भने, ‘टि ट्वान्टी क्रिकेट मेरो जीवनको ठूलो हिस्सा रह्यो। म यस फर्म्याटमा खेल्दै पाएका अनुभव र सम्झनाका लागि आभारी छु। यो समय मेरो र टोली दुवैका लागि उचित हो। अब नयाँ खेलाडीलाई अवसर दिन र विश्वकपका लागि तयार रहन जरुरी छ।

न्युजिल्यान्ड क्रिकेटका प्रमुख कार्यकारी स्कट विनिङ्कले भने, ‘केनको कप्तानी र प्रदर्शन दुवै उत्कृष्ट छन्। उनले संसारभरका कठिन परिस्थितिमा निरन्तर रन बनाए र आफ्नो नेतृत्वले टोलीलाई नयाँ उचाइमा पुर्‍याए।’ विनिङ्कले थपे, ‘केन वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिजमा खेल्नेछन्। सबै न्युजिल्यान्ड समर्थकहरूलाई म आग्रह गर्छु । आउनुहोस्, हाम्रो महान खेलाडीमध्ये एकलाई फेरि प्रत्यक्ष हेर्नुहोस्।’ विलियमसन अहिले केन्द्रीय सम्झौतामा छैनन्। उनले ओडिआई बारे भने भविष्यमा निर्णय लिने बताएका छन्।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार