
धनकुटा । धनकुटा बजारबाट करिब पाँच किलोमिटर उकालो चढेपछि पुगिन्छ, सिप्तिङ गाउँ । धनकुटा नगरपालिका–३ मा पर्ने यो स्याउले सिप्तिङ गाउँमा आठपहरिया समुदायको बाहुल्य छ । सङ्ख्याका हिसाबले सानो तर सांस्कृतिक सम्पदामा समृद्ध आठपहरिया समुदायले सञ्चालन गरेको होमस्टे अहिले स्थानीय पर्यटनको नयाँ पहिचान बनेको छ । अरुण र तमोर नदीको बीचमा पर्ने धनकुटालाई आफ्नो उद्गम थलो मान्दै आएको यो सीमान्तकृत आदिवासी जनजाति ‘आठपहरिया’ यति बेला पर्यटनमार्फत समृद्धि खोजिरहेको छ ।
स्याले सिप्तिङ गाउँ पुग्ने पर्यटकहरू पाहुना होइन परिवारका सदस्य बन्छन् । हरियाली डाँडामाथि, चिसो र निश्चल हावाको वेगसँगै सुनौला घामका किरणले यो गाउँको सुन्दरता अझ बढाउँछ । नेपालको जनगणना, २०७८ अनुसार आठपहरिया समुदायको सङ्ख्या पाँच हजार ८७८ जना छ । यो समुदायलाई होमस्टेमार्फत समृद्धिको यात्रामा हिँडाउने अग्रसरता भने अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र कम्युनिटी होमस्टे नेटवर्कले गरेका थिए ।
साथै आतिथ्य सत्कार र क्षमता अभिवृद्धिका लागि नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी)ले संस्कृति प्रवद्र्धन गर्न धनकुटा नगरपालिकासँग सहकार्य गरेका थिए । यहाँ आउने पर्यटकको स्वागतमा होटलको औपचारिकता जस्तो नभई मौलिक संस्कृति झल्किन्छ । पाहुनालाई आमा तथा दिदीबहिनीहरुले रातो टीका, फूलको माला र मीठो मुस्कानले स्वागत गर्छन् ।
स्वागतमा स्थानीय मौरीको मह मिसाइएको पानी अनिवार्य जस्तै छ । एकैछिन थकाइ मारेपछि पाहुनालाई होमस्टे र समुदायको इतिहास, संस्कार र संस्कृतिसँग साक्षात्कार गराइन्छ । आठपहरिया समुदायले कसरी आफ्नो पहिचान र परम्परा जोगाउँदै पर्यटनलाई आत्मसात् गरेका छन् भन्ने जानकारी दिइन्छ । स्याउले सिप्तिङ पुग्ने अधिकांशको ध्यान सुन्तला बगैँचाले तान्छ । पाहुनाहरू बगैँचामा रमाउँदै किसानसँग संवाद गर्छन् । सुन्तलाखेती, मह उत्पादन र स्थानीय बीउ संरक्षणबारे जानकारी लिन्छन् । यहाँको होमस्टेले पाहुनालाई केबल बास मात्र होइन, जीवनशैलीको अध्ययन र अनुभव पनि दिन्छ ।
गत वर्ष यस होमस्टेमा ७२ जना पर्यटकलाई स्वागत गरिएको होमस्टेका अध्यक्ष हिराबहादुर राईले बताए । जसमा २४ जना विदेशी पाहुना थिए । यस वर्ष भने हालसम्म ८२ जना पर्यटक यहाँ आइपुगेको उनले बताए । एकरातमा १७ जनासम्म पाहुनालाई बास दिन सक्ने गरी विकास गरिएको यस होमस्टेमा मनोरञ्जन, संस्कृतिको जगेर्ना र नयाँ पुस्तालाई आफ्नो संस्कृतिबारे जानकारी गराउने उद्देश्यले हरेक बेलुका स्थानीय सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिन्छ । यहाँको अर्को आकर्षण हो, साततले झरना र गुफा । सामुदायिक होमस्टेबाट १५ मिनेटको सवारी यात्रा र करिब डेढ घण्टा पैदल यात्रा गरेपछि झरना देख्न पाइन्छ । झरना पुग्नुभन्दा एक किलोमिटर अगाडि नै साततले गुफा छ । यस क्षेत्रलाई पहुँचयोग्य बनाउन एसटीएलआरपीले पदमार्ग निर्माण गरिदिएको छ ।
आठपहरिया समुदाय नेपालको लोपोन्मुख जातिमा पर्छ । उनीहरूको आफ्नै भाषा, गीत, नृत्य र परम्परा छ । पछिल्लो समय आधुनिकतासँगै संस्कृति हराउने चिन्ता समुदायका हिराबहादुरलाई छ । उनी भन्छन्, “हामीले त पुर्खाहरूबाट सिक्यौँ । तर, नयाँ पुस्ताले आधुनिकतामा रमाएर आफ्नो संस्कृति छोड्दै जाँदा इतिहास नै मेटिन्छ कि जस्तो लाग्छ । त्यसपछि अहिले हामीले संस्कृति हस्तान्तरण र सिकाइका लागि हरेक साँझ सांस्कृतिक कार्यक्रमहरू गर्ने गरेका छौँ ।”
उनले पर्यटनलाई संस्कृति संरक्षणको माध्यम बनाइरहेको पनि बताए । होमस्टे यहाँ केबल व्यवसाय मात्र नभएर संस्कृति जीवित राख्ने माध्यम भएको उनको भनाइ छ । पाहुनाले यहाँ बास गर्दा केबल प्रकृति मात्र हेर्दैनन्, उनीहरू जीवनको एक पुरानो अध्यायसँग भेट गर्छन्, जहाँ सम्बन्ध, श्रम र माटोको गन्ध मिसिएको छ ।
यस परियोजनामा स्थानीय युवा सक्रिय छन् । उनीहरू पर्यटन व्यवस्थापन, पाहुना सेवा र गाइडिङमा दक्ष बन्दै गइरहेका छन् । तर, अझै सहज पहुँचका लागि होमस्टेसम्म जोड्ने बाटो बनाउन सहयोगका लागि सरकारसँग स्थानीय समुदायले आग्रह गरेका छन् । दिगो पर्यटन परियोजनाका अधिकृत खगेन्द्र खड्काले भने, “स्याउले सिप्तिङ सामुदायिक होमस्टेले नेपालमा सांस्कृतिक पर्यटनको नयाँ परिभाषा दिइरहेको छ । स्याउले सिप्तिङको साँझमा जब ढोल बज्छ र आठपहरियाहरू परम्परागत नृत्यमा रमाउँछन्, पाहुना पनि सँगसँगै नाच्छन् । त्यो क्षणमा संस्कृति, प्रकृति र मानवीय आत्मीयता एकै ठाउँमा मिसिएको अनुभव हुन्छ । यसले ग्रामीण अर्थतन्त्रमा सशक्त प्रभाव पार्ने मात्र नभएर संस्कृति जगेर्नामा पनि कोशेढुङ्गा साबित हुनेछ ।”













समाचार
नेपालले न्युजिल्यान्ड ‘ए’ सँग खेल्ने
करदाता प्रोत्साहन उपहार कार्यक्रमको प्राविधिक तयारी पूरा, शुक्रबार १५ जनालाई एक-एक लाख र एक जनालाई १० लाख उपहार घोषणा हुने
लालीगुराँस र मनास्लु सेमिफाइनलमा
करिब ६४७ किलो गाँजासहित दुई जना पक्राउ
ट्रम्पको हेलिकप्टर यात्रुवाहक विमानसँग अत्यन्त नजिक पुगेको घटना छानबिनमा
आयल निगमको कार्यकारी निर्देशकमा साह नियुक्त
अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण आवश्यक : अध्यक्ष अग्रवाल
लोअर ठुलोखोला जलविद्युत आयोजना निर्माणका लागि नेपाल बैंक र चितवन इनर्जीबीच कर्जा सम्झौता
नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदका लागि पाँच जना परे संक्षिप्त सूचीमा, २५ गते अन्तर्वार्ता हुने
सूचीकृत कम्पनीहरूलाई असोज मसान्तभित्र वार्षिक नवीकरण शुल्क बुझाउन नेप्सेको निर्देशन