राजस्व कार्यालय भैरहवाले गर्‍यो लक्ष्यभन्दा बढी राजस्व संकलन, चार महिनामा १ अर्ब १५ करोड बढी संकलन

काठमाडौं ।  भैरहवास्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०८२÷८३ को पहिलो चार महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। कार्यालयले साउनदेखि कात्तिकसम्ममा लक्ष्यभन्दा एक अर्ब १५ करोड ७८ लाख ५१ हजार रुपैयाँ बढी राजस्व संकलन गरेको हो। आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोखरेलका अनुसार साउनदेखि कात्तिकसम्म प्रत्येक महिना राजस्वको लक्ष्य प्राप्ति भएको छ।

‘चार महिनामा हामीलाई आन्तरिक राजस्व विभागले दिएको लक्ष्यभन्दा बढी संकलन गर्न सफल भएका छौं,’ उनले भने। चार महिनामा चार अर्ब २३ करोड ६८ लाख १४ हजार राजस्व संकलनको लक्ष्य पाएको यो कार्यालयले पाँच अर्ब ३९ करोड ४६ लाख ६५ हजार संकलन गर्न सफल भएको छ। यो लक्ष्यको २७.३ प्रतिशतले बढी र लक्ष्यको १२७.३ प्रतिशत संकलन भएको प्रमुख कर अधिकृत पोखरेलले जानकारी दिए ।
‘गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन ५१.५ प्रतिशतले वृद्धि भएको छ। चारै महिना हामीले लक्ष्य हासिल गरेका छौं,’ उनले भने । राजस्व संकलनको जम्मा लक्ष्यमा अन्तःशुल्कको ठूलो हिस्सा अर्थात् ८२.६ प्रतिशत रहेको उनले जानकारी दिए । ‘मूल्य अभिवृद्धि कर, आयकर पनि राम्रै असुली भएको छ। तर ठूलो हिस्सा अन्तःशुल्कको देखिन्छ,’ कर अधिकृत पोखरेले भने।

आर्थिक वर्ष २०८१÷८२ मा कार्यालयले साउनदेखि कात्तिकसम्म ३ अर्ब ५६ करोड दुई लाख ६१ हजार संकलन गरेको थियो। ‘राजस्व असुलीमा एकदमै राम्रो र उत्कृष्ट कार्यसम्पादन गर्न सफल भएको छ। कार्यालयअन्तर्गतका उद्योगी–व्यवसायी र कर प्रशासनको संयुक्त ‘टिमवर्क’बाट नै यो सम्भव भएको हो,’ पोखरेलले भने । आन्तरिक राजस्व कार्यालय भैरहवाअन्तर्गत ६४ हजारभन्दा बढी करदाता छन्।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार