
तनहुँ । पर्यटनको प्रचुर सम्भावना बोकेको तनहुँको ऋषिङ गाउँपालिका-३ दुबुङ पर्यटकको रोजाइमा पर्न थालेको छ । प्रचारप्रसार हुन थालेपछि यस ठाउँमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो ।
जिल्लामा धेरै ठाउँ पर्यटन सम्भावनाले भरिएका छन् । पछिल्ला वर्षमा आन्तरिक पर्यटकको ध्यान खिच्न सफल स्थानमध्ये दुबुङ एक तीव्र गतिमा उदाउँदै गएको पर्यटन गन्तव्यको रूपमा स्थापित हुँदैछ । पहाडको काखमा बसेको यो स्थान केबल प्राकृतिक सुन्दरता मात्रै होइन, पहाडी जीवनशैली, कृषि पर्यटन, दृश्यावलोकन र ऐतिहासिक झल्कोले पनि भरिपूर्ण छ ।
स्थानीय होमबहादुर रानाभाटका अनुसार दुबुङको आकर्षक भौगोलिक बनावट र प्राकृतिक सौन्दर्यलाई योजनाबद्ध रूपमा प्रवर्धन गर्नसके पर्यटन विकासमा ठूलो फड्को मार्न सकिनेछ । उनले भने, ‘सामाजिक सञ्जालमा तस्बिर प्रकाशित हुन थालेपछि यहाँको चर्चासँगै पर्यटक पहिल्यैभन्दा बढी आउन थालेका छन् ।’
स्थानीय इन्द्रबहादुर आलेले दुबुङ प्राकृतिक रूपमा अत्यन्त सुन्दर भएकाले यसको व्यवस्थित प्रचारप्रसारबाट आन्तरिक तथा बाह्य दुवै पर्यटक भित्र्याउन सकिने धारणा व्यक्त गरे । उनका अनुसार चियाबगान, दृश्यावलोकन स्थलले पछिल्लो समय दुबुङको आकर्षण थप बढाएको छ ।
दुबुङस्थित भालथुम्केमा पछिल्लो समय बृहत् चिया बगान विस्तार गरिएको छ । बालबालिकाका लागि उद्यान, वनभोजस्थल, तथा दृश्यावलोकन केन्द्र यहाँका थप आकर्षण हुन् । बाटो कच्ची भएकाले पर्यटकलाई केही असहज भए पनि, शिखरमा पुगेपछि देखिने दृश्य अत्यन्त मनमोहक लाग्ने आन्तरिक पर्यटक ईश्वर बास्तोला बताउँछन् ।
सदरमुकाम दमौलीबाट नजिकै रहेको यहाँबाट माछापुच्छ्रे हिमाल, अन्नपूर्ण, धौलागिरिलगायत हिमश्रृङ्खला देख्न सकिन्छ । उनले भने, ‘विभिन्न डाँडा तथा बादलको घुम्टो ओेढेको दृश्यले मन नै मोहित बनाउँछ ।’
यहाँ बाइसेचौबिसे राज्यका तनुङ्गे, भिरकोटे, दुबुङ्गे राजाको झल्को दिनेगरी कुर्ची बनाइएको छ । यहाँबाट ऋषिङ, ग्वास्लुङ, काहुशिवपुर, मानुङ, छिम्केश्वरी, छिपछिपे, छेरङ्गा, मौरीबास, काँफलडाडा, भिरकोट, थप्रेकको दृश्य अवलोकन गर्न सकिने स्थानीय मधुमाया रानाभाटले बताइन् ।
उनले भने, ‘जिल्लाको दक्षिणी भेग मनमोहक हुँदाहँदै पनि सम्बन्धित निकायको कम प्राथमिकताले विकास हुन सकिरहेको छैन ।’ पर्यटन पूर्वाधार तथा प्रचारप्रसारमा ध्यान दिनसके दुबुङ तथा भालथुम्के क्षेत्र समग्र तनहुँकै महत्वपूर्ण भ्यू-प्वाइन्टका रूपमा स्थापित हुने स्थानीयवासीको विश्वास छ ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह