
तनहुँ। जिल्लाका गुरुङ समुदाय आफ्ना मौलिक संस्कार, संस्कृति र पहिचान संरक्षण तथा प्रवर्द्धनमा सक्रिय भएर जुटेका छन् । समयक्रमसँगै आधुनिक जीवनशैली र प्रविधिको प्रभाव बढ्दै जाँदा नयाँ पुस्तामा परम्परागत संस्कृतिप्रति चासो घट्दै गएको अवस्थालाई मध्यनजर गर्दै गुरुङ समुदायले संस्कृति संरक्षण र प्रवर्द्धनका लागि सङ्गठित भई अभियान सञ्चालन गरेका हुन् ।
जिल्लास्थित तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष देवबहादुर गुरुङले आधुनिकतासँगै प्रविधिको प्रयोग बढ्दै जाँदा गुरुङ समुदायका मौलिक संस्कार र संस्कृतिहरू लोप हुने अवस्थामा पुग्ने जोखिम रहेकाले परिषद्ले संरक्षण र प्रवर्द्धनका लागि पहल थालेको बताए । परिषद्ले निरन्तर रूपमा तालिम, प्रशिक्षण तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको उनले जानकारी दिए ।
परिषद्का अध्यक्ष गुरुङले पुराना पुस्ताले संस्कृति जगेर्ना गर्ने मात्र नभई नयाँ पुस्तालाई सिकाउनु, हस्तान्तरण गर्नु पनि आजको आवश्यकता बनेको बताए । गुरुङ समुदायका मौलिक र पहिचान बोकेका मारुनी नाच, पाउदुरे नाच र घाँटु नाच पछिल्लो समय संरक्षणको अभावमा सङ्कटमा पर्दै गएकाले पुस्तान्तरणसहित संरक्षणमा जोड दिइएको उनको भनाइ छ ।
यी नाचहरूलाई लोप हुन नदिन परिषद्ले अहिलेका पुस्तालाई लक्षित गरी नाच प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको अध्यक्ष गुरुङले बताए । उनले भने, “यी नाच गुरुङ समुदायको इतिहास र पहिचानसँग जोडिएका छन् । पुरानो पुस्ताले नयाँ पुस्तालाई सिकाउन र पुस्तान्तरण गर्न सकेन भने केही वर्षमा हाम्रा कला, परम्परा र संस्कार केवल स्मृतिमा सीमित हुने जोखिम छ ।”
पाउदुरे नाचमा केटालाई केटीको भूमिकामा प्रस्तुत गरिने परम्परा रहेको उल्लेख गर्दै परिषद्का अध्यक्ष गुरुङले यस किसिमका सांस्कृतिक विशेषता गुरुङ समुदायको मौलिकता भएको धारणा राखे । उनले भने, “हामी अहिले पुस्ता हस्तान्तरणको अभियानमा छौँ । नयाँ पुस्तालाई संस्कृतिप्रति जिम्मेवार बनाउनु नै हाम्रो मुख्य उद्देश्य हो ।”
संस्कृतिसँगै भाषाको संरक्षण पनि उत्तिकै महत्वपूर्ण रहेको बताउँदै अध्यक्ष गुरुङले गुरुङ भाषालाई गण्डकी प्रदेश सरकारले सरकारी कामकाजका रूपमा मान्यता दिएकामा धन्यवाद व्यक्त गरे । उनका अनुसार यसअघि गुरुङ भाषा लिपिबद्ध नभएको अवस्थामा गण्डकी प्रदेश सरकारले खेमा लिपिलाई राजपत्रमा प्रकाशित गरी आधिकारिकता प्रदान गरेको हो । यसले गुरुङ भाषा संरक्षण र प्रवर्द्धनमा नयाँ आयाम थपेको उनले विश्वास व्यक्त गरे ।
खेमा लिपिलाई व्यवहारमा उतार्ने उद्देश्यले प्रत्येक जिल्लामा भाषा तालिम सञ्चालन गर्ने तयारी भइरहेको परिषद्ले जनाएको छ । यसबाट गुरुङ भाषा सिक्ने वातावरण सिर्जना हुनुका साथै भावी पुस्ताले आफ्नै मातृभाषामा लेख्न, पढ्न र प्रयोग गर्न सक्ने अवस्था निर्माण हुने अपेक्षा गरिएको गुरुङ समुदायका अगुवा गलबहादुर गुरुङले बताए ।
गुरुङ समुदायको यो अभियान केवल सांस्कृतिक कार्यक्रमसम्म सीमित नभई समुदायको पहिचान, इतिहास र अस्तित्व संरक्षणसँग जोडिएको दीर्घकालीन प्रयासका रूपमा हेरिएको उनले बताए ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व