
तनहुँ। देवघाट क्षेत्र विकास समितिको स्वामित्वमा रहेको मणिमुकुन्देश्वर चक्रवर्ती आश्रम धार्मिक वनभित्र निर्माण गरिएको नक्षेत्र वाटिका हाल संरक्षण अभावका कारण अत्यन्तै नाजुक अवस्थामा पुगेको छ । धार्मिक, सांस्कृतिक तथा वातावरणीय दृष्टिले महत्त्वपूर्ण मानिने यो वाटिका उचित व्यवस्थापन नहुँदा दिनानुदिन उजाड बन्दै गएको हो ।
शम्भु तपो धार्मिक वनअन्तर्गत करिब साढे दुई रोपनी क्षेत्रफलमा निर्माण गरिएको नक्षेत्र वाटिकामा प्रारम्भिक चरणमा धार्मिक महत्व बोकेका तथा औषधीय गुण भएका विभिन्न प्रजातिका बोटबिरुवा रोपिएका थिए । तुलसी, श्रीखण्ड, बेल, बरपिपल, पारिजात, अमला, हर्रोबर्रो, आँप, डुम्री, टुनी, सिसौ, टाकीलगायत बोटबिरुवाले वाटिकालाई धार्मिक तीर्थस्थलको गरिमा झल्काउने उद्देश्य राखिएको थियो ।
तर समयसँगै उचित संरक्षण, नियमित स्याहारसम्भार र व्यवस्थापन नहुँदा वाटिकाको अवस्था दयनीय बन्दै गएको छ । हाल धेरै बिरुवा सुकिसकेका छन्भने बाँकी जीवित रहेका बोटबिरुवा झाडी र काँडाले घेरेका छन् । बोटबिरुवाको संरक्षणका लागि निर्माण गरिएको बारघेर जीर्ण अवस्थामा पुगेको छ, जसका कारण चौपायाको प्रवेश तथा अन्य क्षतिको जोखिम बढेको स्थानीय बताउँछन् ।
स्थानीयवासीका अनुसार वाटिका निर्माणको सुरुआती चरणमा आकर्षक, चिटिक्क र व्यवस्थित देखिन्थ्यो । तर निर्माणकार्य सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरेपछि संरक्षण र रेखदेखमा निरन्तरता नदिँदा समस्या उत्पन्न भएको हो । मल, पानी, जाल, नियमित गोडमेल तथा आवश्यक स्याहार नपाउँदा वाटिका पूरै उजाड बन्ने अवस्थामा पुगेको छ । डिभिजन वन कार्यालयका वन अधिकृत राजकुमार श्रेष्ठले वाटिका निर्माणपछि संरक्षणमा कमजोरी हुनु साझा समस्या रहेको बताए । उनका अनुसार निर्माण सम्पन्न भएपछि दीर्घकालीन संरक्षण र व्यवस्थापनको स्पष्ट जिम्मेवारी तोक्न नसक्दा यस्तो अवस्था आएको हो । समुदाय, आश्रम र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ छ ।
वन अधिकृत श्रेष्ठका अनुसार हाल सम्बन्धित समितिले वाटिकाको संरक्षण तथा व्यवस्थापनका लागि आवश्यक कार्ययोजना स्वीकृतिका लागि पेस गरिएको छ । चालु आर्थिक वर्षमा कार्यक्रम तथा बजेट स्वीकृत भए डिभिजन वन कार्यालयबाट प्राविधिक तथा आवश्यक सहयोग उपलब्ध गराइने उनले स्पष्ट पारे । मुख्यतः मणिमुकुन्देश्वर चक्रवर्ती आश्रम धार्मिक वन र सम्बन्धित समितिमाथि वाटिकाको संरक्षण, रेखदेख र दीर्घकालीन व्यवस्थापनको जिम्मेवारी रहेको उल्लेख गर्दै उनले स्थानीय समुदायको सक्रिय सहभागिताबिना संरक्षण सम्भव नहुने धारणा राखे ।
धार्मिक आस्थासँगै जैविक विविधता संरक्षण र हरियाली प्रवर्द्धनका दृष्टिले महत्त्वपूर्ण मानिएको मणिमुकुन्देश्वर नक्षेत्र वाटिकालाई जोगाउन तत्काल पहल आवश्यक देखिएको छ । स्थानीयवासी तथा सरोकारवालाले बजेट सुनिश्चितता, जिम्मेवारी स्पष्टता र नियमित अनुगमनको व्यवस्था गरी वाटिकालाई पुनः जीवन्त बनाइदिन सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम