
भोजपुर । केही समयअघिसम्म सामान्य कफीका बोट हुने भोजपुरमा अहिले यसको व्यावसायिक खेती सुरु भएको छ । बजारसम्मको पहुँच स्थापित भएपछि यहाँका किसान व्यावसायिक कफी गर्न थालेका हुन् ।
अहिले यहाँका किसानको आयआर्जनको मुख्य माध्यम यही बनेको छ । उत्पादन भएको कफी घरबाटै बिक्री हुन थालेपछि किसानलाई बजार खोज्नुपर्ने झन्झट कम भएको छ भने आम्दानीसमेत बढेको छ । जिल्लाका हतुवागढी गाउँपालिकाका सिन्द्राङ, होम्ताङ, लुङ्गिन र लुङ्थुङ, रामप्रसादराई गाउँपालिकाका खोक्सिक, आमचोक गाउँपालिका, पौवादुङमा गाउँपालिका तथा षडानन्द नगरपालिकालगायत क्षेत्रका किसानले कफी खेती विस्तार गर्दै आएका छन् । यी क्षेत्रको माटो, हावापानी र भौगोलिक बनावट कफी उत्पादनका लागि उपयुक्त मानिन्छ ।
कफीखेती विस्तारका लागि सङ्घीय सरकारको विशेष अनुदान तथा किसानको लागत साझेदारीमा चालु आर्थिक वर्षमा करिब ३ करोड ३० लाख रुपैयाँ बराबरको कार्यक्रम सञ्चालन भइरहेको सुरेन्द्रकुमार उदासले जानकारी दिए । उनका अनुसार कफीका लागि उपयुक्त क्षेत्रको पहिचान गरी योजनाबद्ध रूपमा खेती विस्तार भइरहेको छ । नगरपालिकाका सबै १४ वटै वडामा कफीखेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा रहेका छन् ।
रामप्रसादराई गाउँपालिका–८ खोक्सिकामा किसानले २२ रोपनी क्षेत्रफलमा सामूहिक कफीखेती सुरु गरेका छन् । मकै, आलुजस्ता परम्परागत बालीमा निर्भर किसान अहिले आयमूलक तथा निर्यातमुखी खेतीतर्फउन्मुख भएका हुन् । खोक्सिका कफीखेतीका लागि उपयुक्त भूगोल भएको र अन्य बालीको तुलनामा कफीबाट राम्रो आम्दानी लिन सकिने स्थानीय कृषक मनोज राईले बताए ।
यहाँ उत्पादन भएको कफी धरान, इटहरी, विराटनगर र काठमाडौं हुँदै विदेशसम्म निर्यात हुने गरेको स्थानीय कफी व्यवसायीको भनाइ छ । विशेषगरी अर्गानिक कफीको अन्तरराष्ट्रिय बजारमा राम्रो माग रहेको बताइएको छ । पछिल्लो समय किसान व्यावसायिक खेतीमा जुटेसँगै उत्पादनसमेत वृद्धि भएको कफी बिक्रेता सुनील श्रेष्ठले जानकारी दिए । राम्रोसँग फलेको कफीको एक बोटबाट २५ देखि ३० केजीसम्म उत्पादन लिन सकिने किसानको अनुभव छ । खेती विस्तार बढेसँगै यहाँबाट निर्यात हुने कफीको मात्रा पनि वृद्धि हुँदै गएको उनको भनाइ छ ।
कफीखेतीको विस्तारले किसानको आम्दानी वृद्धि हुनुका साथै जिल्लाको कृषि अर्थतन्त्रलाई सुदृढ बनाउने स्थानीय जानकारको भनाइ छ ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह