बझाङ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बझाङमा जारी मतगणनाको प्रारम्भिक परिणाममा नेकपा (एमाले) का उम्मेदवार ऐन महरले अग्रता लिएका छन्। हालसम्म गणना भएको मतअनुसार महरले २ हजार १०२ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन्। उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले १ हजार ९४५ मत ल्याउँदै उनलाई पछ्याइरहेका छन्।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शैलेन्द्र कुमार सिंहले १ हजार २१५ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मीनबहादुर कुँवरले ८४१ मत पाएका छन्। बुंगल नगरपालिका वडा नम्बर १, ४, ६ र ९ तथा जयपृथ्वी नगरपालिका वडा नम्बर १, ७ र ८ को मतगणना सकिँदासम्म नेपाली कांग्रेसका उम्मेदवारभन्दा एमाले उम्मेदवार महर १५७ मतले अगाडि रहेका छन्। अघिल्लो निर्वाचनमा गठबन्धनसँग झिनो मतान्तरले पराजित भएका एमाले उम्मेदवार महरले यसपटक भने सुरुवातमै अग्रता बनाएका छन्।