काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष पुण्यप्रसाद सिटौलाले वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार इन्धनको मूल्य बढ्दा भाडा पनि स्वतः समायोजन हुनुपर्ने व्यवस्थाको कार्यान्वयन गर्न माग गरेका छन् ।
कार्यवाहक अध्यक्ष सिटौलाले यस्तो माग गरेका हुन् । पेट्रोलियम पदार्थको मूल्य बारम्बार बढ्दा समेत भाडा समायोजना नहुँदा यातायात व्यवसायी मारमा परेको उनको भनाइ छ । उनले डिजेलमा दुई पटक गरी ५५ रुपैयाँ वृद्धि भएको र पेट्रोलको मूल्यमा समेत वृद्धि भइरहेको अवस्थामा बागमती प्रदेशले मात्रै भाडा समायोजन गरेको उल्लेख गरे । वार्षिक रूपमा हुने भनिएको भाडा समायोजन प्रक्रिया अब प्रभावहीन भइसकेको उनको जिकिर छ । उनले हवाई क्षेत्र र नेपाल आयम निगमजस्तै स्वचालित भाडा समायोजन प्रणालीको पुनरावलोकन गरी प्रभावकारी कार्यान्वयनमा ल्याउन माग गरे। उनले पेट्रोलियम पदार्थमो मूल्यमा गिरावट आउँदा सरकारले सोहीअनुसार मूल्य समायोजन गर्दापनि व्यवसायीलाई स्वीकार्य भएको पनि बताए।
उनले भने, ‘वार्षिक रूपको समायोजन हुनुपर्ने भाडा पनि र भर्खरै २५ रुपैयाँ बढेको अवस्थामा बागमती प्रदेशले समायोजन गरेको अवस्था छ । अहिले वार्षिक रूपमा समायोजन हुने च्याप्टर क्लोज भइसक्यो । दुई पटक २५ रुपैयाँ र ३० रुपैयाँ गरी ५५ रुपैयाँ डिजेलमा र पेट्रोलमा दुई रुपैयाँ घाटा छ । त्यो घाटाले गर्दा काठमाडौं उपत्यका लगायत देशभरका मालवाहक तथा यात्रुवाहक सबै प्रकारका व्यवसायीहरु प्रभावित भएका छन् । हामीले स्वचालित प्रणालीमार्फत भाडा समायोजन हुने प्रणाली बनाउन माग गरेका छौँ । हिजोको दिनमा अस्थीर सरकार र राजनीतिक परिस्थितिको कारण पनि त्यसले प्रभावकारी काम गर्न सकेन । अहिले पनि आयल निगममा स्वचालित प्रणाली छ । राति १२ बजेबाट शुरु भइहाल्छ । त्यसैगरी हवाई सेवामा पनि त्यहीअनुसारको स्वचालित प्रणाली बनाएर काम गरिरहेको अवस्था छ । तर सडक यातायातमा विभेद भइरहेको छ । यस प्रकारको विभेद अन्त्य गर्नको लागि हामीले बारम्बार प्रश्न गरिरहेका छौँ ।’
सातामा दुई दिन सार्वजनिक बिदा दिँदा पनि अपेक्षित रूपमा इन्धन खपत घटाउन सकेन । कार्यवाहक अध्यक्ष सिटौलाले पेट्रोलियम पदार्थ आपूर्ति सहज बनाउने सातामा दुई दिन बिदा दिने निर्णय गरेपनि त्यसले रूपमा इन्धन खपत घटाउन नसकेको जिकिर गरे । उनले सरकारी निकायमा दुई दिन सार्वजनिक बिदा दिँदा सरकारी कर्मचारी, विद्यार्थी, पेशाकर्मी लगायतले खपत घटाउनुको सट्टा झन धेरै खपत गरेको उनको भनाइ छ । उनले सरकारले सातामा दुई दिन बिदा दिने निर्णयको समिक्षा गर्नुपर्नेमा उनको जोड छ । उनले इन्धन खपत कम गर्न विद्युतीय बाहेकका निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्न सुझाव समेत दिए । उनले इन्धन अभाव हुँदासम्म निजी सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्नसके सार्वजनिक यातायात र इन्धन आपूर्तिमा समेत सहज हुने उनको बुझाई छ ।
उनले भने, ‘सरकारले सातामा दुई दिन बिदा दिने जुन निर्णय गर्यो यसले पेट्रोलियम पदार्थको खपतमा कमी आउनुको सट्टा बढी भएको छ । सार्वजनिक निकायमा बिदा हुँदा विद्यार्थी, अभिभावक, पेशाकर्मी सबै बिलासी भएको कारणले यसले प्रभावकारी काम गर्न सकेन । एउटा मोटरसाइकल एउटा चारपाङ्ग्रे सवारी त धेरैको घरमा छ नि अहिले । यो विषयमा सरकारले समिक्षा गरिरहेकै होला । हामीले सुझाव दिने भनेको सरकारले निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली अस्ति नै लागू गर्नुपथ्र्यो । व्यक्तिले आफ्नो पैसाले पेट्रोलियम पदार्थ किनेपनि पुँजी पनि बाहिर गइरहेको छ । अर्को कुरा आपूर्तिमा समेत असहजता भइरहेको छ नि त । अहिले हामीले भाडा समायोजनको सम्बन्धमा पर्खन सक्ने अवस्था छैन ।’
उनले सार्वजनिक सवारी साधनको भाडा सरकारले समायोजन नगरे व्यवसायी चुप लागेर नबस्ने उनको चेतावनी छ । उनले सार्वजनिक यातायातलाई प्रविधिमैत्री, क्यासलेस र जिपिएस प्रणालीमा लैजान आवश्यक रहेको पनि बताए ।