काठमाडौं । भक्तपुर जिल्ला हक्की संघको आयोजनामा पहिलो पटक ‘खुल्ला विद्यालय महिला तथा पुरुष हक्की प्रतियोगिता २०८३’ सञ्चालन हुने भएको छ। हक्की खेलको जग बलियो बनाउने र विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले आगामी वैशाख ११ र १२ गते यो प्रतियोगिता आयोजना गर्न लागिएको हो।
जिल्ला हक्की संघ भक्तपुरका अध्यक्ष *पुष्कर केसीका अनुसार प्रतियोगितामा विभिन्न प्रदेशका ६ वटा विद्यालयका कुल १० वटा टोली (महिला र पुरुष) ले सहभागिता जनाउने निश्चित भएको छ।
सहभागी विद्यालयहरू र टोली :
प्रतियोगितामा मधेश प्रदेश, गण्डकी प्रदेश र वागमति प्रदेशका गरी निम्न विद्यालयहरूले प्रतिस्पर्धा गर्नेछन्:
१. जया सेकेण्डरी बोर्डिङ स्कुल
२. ज्ञान बगैंचा इङलिस बोर्डिङ स्कुल
३. श्री राष्ट्रिय आधारभूत विद्यालय
४. कालिका माध्यमिक विद्यालय
५. गुण्डु इङलिस सेकेन्डरी स्कुल
६. श्री जनता माध्यमिक विद्यालय
यस प्रतियोगितामा मधेश प्रदेशबाट २ महिला र १ पुरुष, गण्डकी प्रदेशबाट २ पुरुष र १ महिला, तथा भक्तपुर जिल्लाबाट २ पुरुष र २ महिला गरी कुल १० वटा टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

हक्की खेलको विकासमा कोशेढुङ्गा
अध्यक्ष केसीले यस्तो प्रतियोगिताले हक्की खेलप्रति विद्यार्थीहरूको माया र सद्भाव बढ्नुका साथै खेलको प्राविधिक विकासमा समेत ठूलो टेवा पुग्ने बताए । “हामीले पहिलो पटक विद्यालय स्तरमा यसरी ठूलो प्रतियोगिता आयोजना गर्दैछौँ। यसले लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउन र हक्कीको भविष्य सुनिश्चित गर्न मद्दत गर्नेछ,” उनले भने । दुई दिनसम्म चल्ने यस खेलले भक्तपुरको खेलकुद पर्यटन र हक्कीको लोकप्रियतालाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। आयोजकका अनुसार खेलको सम्पूर्ण प्राविधिक तयारी अन्तिम चरणमा पुगेको छ।