राजस्थानमाथि हैदराबादको रोमाञ्चक जित

काठमाडौं । इशान किशन र अभिषेक शर्माको उत्कृष्ट अर्धशतकको मद्दतमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गर्दै २ सय २९ रनको विशाल लक्ष्य सफलतापूर्वक पछ्याएको छ।

जयपुरमा शुक्रबार राति सम्पन्न इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ को ३६औँ खेलमा हैदराबादले ९ बल बाँकी रहँदै लक्ष्य पूरा गरेको हो। पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर २ सय २८ रन बनाएको थियो। टोलीका युवा ब्याट्सम्यान वैभव सूर्यवंशीले विस्फोटक शतक प्रहार गरे पनि टोलीलाई जित दिलाउन सकेनन्। उनले केवल ३७ बलमा १ सय ३ रन बनाएका थिए।

सूर्यवंशीले ३६ बलमै शतक पूरा गरेका थिए र आफ्नो इनिङ्सका क्रममा प्रत्येक तेस्रो बलमा छक्का प्रहार गर्ने आक्रामक शैली देखाएका थिए।राजस्थानका लागि ध्रुव जुरेलले ५१ रन जोडे । यी दुईबीच दोस्रो विकेटका लागि ६२ बलमा १ सय १२ रनको साझेदारी भएको थियो। हैदराबादका इशान मलिंगाले २ विकेट लिए । २ सय २९ रनको लक्ष्य पछ्याएको हैदराबादले सुरुवातमै ट्राभिस हेडलाई गुमायो। उनलाई पहिलो ओभरमै जोफ्रा आर्चरले आउट गरेका थिए। त्यसपछि अभिषेक शर्मा र इशान किशनले आक्रामक ब्याटिङ गर्दै टोलीलाई बलियो स्थितिमा पुर्‍याए।

अभिषेक र किशनले दोस्रो विकेटका लागि मात्र ५५ बलमा १ सय ३२ रनको शानदार साझेदारी गरे।अभिषेकले ५७ रन बनाउँदा किशनले ७४ रन जोडे। पछि डोनोभान फेरेरा आउट भएपछि पनि हैदराबादले रनगति कायम राख्दै १८.३ ओभरमा ५ विकेट गुमाएर २ सय २९ रन बनाउँदै जित हात पारेको हो। राजस्थानका आर्चरले पनि २ विकेट लिए। यस जितसँगै हैदराबादले कप्तान प्याट कमिन्सको पुनरागमनलाई जितसहित स्वागत गरेको छ, जबकि वैभव सूर्यवंशीको शानदार शतक भने टोलीका लागि पर्याप्त बन्न सकेन।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार