
दमौली । यहाँको व्यास नगरपालिकाले पर्यटकीय गन्तव्यस्थल मानुङकोटमा जग्गा एकीकरण आयोजना सञ्चालनको तयारी गरेको छ ।नगरपालिका वडा नं ५ स्थित मानुङकोटलाई व्यवस्थित र दिगो रूपमा विकास गर्ने उद्देश्यले करिब सात सय रोपनी क्षेत्रफलमा जग्गा एकीकरण आयोजना सञ्चालन गर्न लागिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत शुकदेव लम्सालले उक्त ठाउँलाई पर्यटकीय ग्रामका रूपमा विकास गर्ने उद्देश्यसहित जग्गा एकीकरण आयोजना सञ्चालनको तयारी गरिएको जानकारी दिए । त्यसका लागि प्रारम्भिक अध्ययनसमेत भइसकेको उनले बताए । आयोजनालाई नगरपालिकाको आफ्नै जग्गा एकीकरण आयोजना कार्यान्वयन एकाइमार्फत सञ्चालन गर्ने गरी संस्थागत तयारी भइरहेको लम्सालको भनाइ छ ।
आयोजनामार्फत मानुङकोटलाई योजनाबद्ध पूर्वाधारसहितको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने आधार निर्माण हुनेछ’, उनले भने, ‘दमौली बजार नजिकै रहेको यो क्षेत्र मौलिक पहिचान र दृश्यात्मक सौन्दर्यका कारण दीर्घकालीन पर्यटन विकासका लागि अत्यन्त सम्भावनायुक्त मानिन्छ ।’ आयोजना कार्यान्वयनमा आएपछि सडक, खानेपानी, विद्युत्, पदमार्ग, पार्क तथा अन्य आधारभूत पूर्वाधार योजनाबद्ध रूपमा विकास गरिने नगरपालिकाले जनाएको छ । स्थानीयस्तरमा रोजगारी सिर्जना हुनुका साथै व्यवस्थित बसोबासको अवसर बढ्ने, आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने विश्वास गरिएको छ ।
यहाँबाट कुहिरो र सूर्योदय देखिने भएकाले पछिल्लो सयम मानुङकोट पर्यटकको आकर्षक गन्तव्यस्थलका रूपमा विकास भइरहेको छ ।यहाँबाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ ।
पछिल्लो समय मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेकाहरू पनि पुनः मानुङकोट फर्केर व्यवसाय गर्न थालेका छन् । सहरी विकास मन्त्रालयको आर्थिक लगानीमा मानुङकोटसम्म पुग्ने सडक कालोपत्र गरिएको छ । अलैँचेबाट मानुङकोटसम्म चार हजार ३०० मिटर सडक कालोपत्र भएको हो । कालोपत्र गर्न अप्ठ्यारो रहेको १८० मिटर ठाउँमा ‘आरसिसी’ ढलान गरिएको छ ।













समाचार
देशभर दोहोरो वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
बाढीप्रभावितलाई ‘मोड्युलर’ घर र एकीकृत सहर निर्माण गरी पुनःस्थापना गरिने
अर्बौं लगानी भैसकेका संखुवासभाका चार जलविद्युतको काम रोक्न स्थानीयको दबाब
विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
नेप्सेको डेटा सेन्टरकाे समस्यापछि धितोपत्र बोर्डले गठन गर्यो छानबिन समिति
प्रभु बैंकको ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना’ सार्वजनिक
‘गौरवको यात्रा’: अन्नपूर्ण स्पाइकर किंग्सको नेपाल भलिबल लिग सिजन १ को ट्रफी टुर अन्नपूर्ण बेस क्याम्पमा भव्यताका साथ सम्पन्न
बिजुलीमा लगाइएको भ्याट हटाइने
न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु