यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने समय लम्बियो

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने समय थप भएको छ । कम्पनीले चैत २६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन दिने अवधि थप गरेको हो ।

इन्स्योरेन्सको १० प्रतिशत हकप्रद सेयरमा अब बैशाख ३१ गतेसम्म आवेदन दिन सकिनेछ । इन्स्योरेन्सले हाल कायम १०० कित्ता सेयर बराबर नयाँ १० कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । यस अनुसार इन्स्योरेन्सले २३ करोड १० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २३ लाख १० हजार कित्ता हकप्रद सेयर निष्काशनमा ल्याएको छ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले फागुन १७ गते बुकक्लोज गरेको थियो । यस अनुसार फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ। इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । सेयरधनीहरुले बिक्री प्रबन्धकका साथै लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन् ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार