काठमाडौं । काठमाडौं उपत्यकामा सवारी चाप घटाउने लक्ष्यसहित निर्माण भएको नागढुंगा सुरुङमार्ग सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । यही असार महिनादेखि सुरुङ मार्ग सञ्चालनमा ल्याउने लक्ष्य राखिएको आयोजनाले अब सवारी व्यवस्थापनलाई सहज बनाउन नयाँ प्रविधिसहितको टोल प्रणाली लागू गर्ने योजना अघि सारेको छ ।
नागढुंगा सुरुङ मार्गमा प्रवेश गर्ने सवारी साधनका लागि कार्ड प्रणाली पनि लागू गर्ने प्रस्ताव गरिएको छ । यस अन्तर्गत दैनिक रुपमा आवतजावत गर्ने सवारी साधनका लागि मासिक शुल्क तिरेर जतिपटक यात्रा गर्न मिल्ने व्यवस्था गरिने भएको हो । यसले विशेष गरी काठमाडौं र धादिङबीच नियमित रुपमा यात्रा गर्ने सवारी चालक तथा यात्रुहरुलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।
आयोजनाका प्रमुख सौजन्य नेपालले भारतलगायत अन्य केही देशहरुमा पनि नियमित रुपमा आवतजावत गर्ने सवारी साधानका लागि मासिक पासको व्यवस्था हुने गरेको भन्दै यहाँ पनि यस्तो प्रणाली लागू गर्ने विषयमा छलफल भएको बताए । उनले भने, ‘सीमित शुल्क तिरेर कार्ड लिनेहरुले महिनाभरी जति पटक पनि सुरुङमार्ग प्रयोग गर्न सक्नेछन् ।’
यस प्रकारको व्यवस्था लागू भएमा नियमित यात्रुहरुलाई आर्थिक रुपमा सहज हुने मात्र होइन, टोल संकलन प्रक्रिया पनि व्यवस्थित र पारदर्शी हुने विश्वास गरिएको छ । कार्ड प्रणाली सवारी साधनको नम्बर प्लेटसँग आवद्ध गरिनेछ, जसले गर्दा कुन सवारीले कति पटक सुरुङ प्रयोग गर्यो भन्ने विवरण सजिलै ट्र्याक गर्न सकिनेछ । यसले राजस्व संकलनमा पनि स्पष्टता ल्याउनेछ उनले बताए ।
सडक बोर्डको समन्वयमा टोल शुल्क संकलन तथा छुटसम्बन्धी सम्पूर्ण निर्णयहरु गरिनेछन् । कार्ड प्रणाली प्रभावकारी रुपमा लागू भएमा भविष्यमा देशभरका टोल नाकाहरुमा एउटै कार्ड प्रयोग गर्न सकिने व्यवस्था गर्ने योजना पनि अघि सारिएको छ । यस्तो व्यवस्था लागू भएमा सार्वजनिक यातायात लगायत निजी सवारी प्रयोगकर्ताहरुलाई अझ सहज हुने अपेक्षा गरिएको छ ।
यद्दपि, कार्ड नलिएका सवारी साधनका लागि भने नियमित टोल शुल्क लागू नै रहनेछ । यसले गर्दा प्रयोगकर्ताहरुलाई कार्ड लिन प्रोत्साहन मिल्ने विश्वास गरिएको छ । भारत लगायत केही देशहरुमा विशेष प्रकारका सवारी साधनहरुलाई टोलमा छुट दिने अभ्यास रहे पनि नेपालमा भने सबै प्रकारका सवारी साधनबाट टोल संकलन गर्ने नीति अपनाउने तयारी गरिएको छ । तथापि, भविष्यमा आवश्यकताअनुसार छुटको व्यवस्था गर्न सकिने सम्भावनालाई पनि छ ।
नागढुंगा सुरुङ मार्ग सञ्चालनमा आएपछि काठमाडौं भित्रिने तथा बाहिरिने सवारी चापमा उल्लेखनीय कमी आउने विश्वास गरिएको छ । साथै, यात्रा समय घट्ने, इन्धन बचत हुने र सडक दुर्घटना न्यूनीकरणमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।