काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले आगामी जेठ ८ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले जेठ १३ गतेसम्म आवेदन खुला राख्ने जनाएको छ । मागअनुसार आवेदन नपरेमा निष्काशन अवधि जेठ २२ गतेसम्म लम्बिन सक्ने व्यवस्था गरिएको छ ।
यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ । अब बाँकी सेयर सर्वसाधारणमा बिक्री गर्न लागिएको हो । कम्पनीले जारी पुँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत बराबर ४९ लाख कित्ता प्राथमिक सेयर निष्काशन गर्न अनुमति प्राप्त गरेको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा जारी हुने यी सेयरको कुल मूल्य ४९ करोड रुपैयाँ बराबर रहेको छ ।
जसमध्ये १४ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई र ३ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट भइसकेको कम्पनीले जनाएको छ । कम्पनीले कुल निष्काशनमध्ये १ लाख ७५ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । त्यसैगरी १ लाख ५ हजार कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । यी सबै छुट्याएपछि बाँकी रहेको २८ लाख ७० हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याइनेछ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । पछिल्ला समय प्राथमिक सेयरमा उच्च आकर्षण देखिएकाले निष्काशन अवधिभित्रै मागभन्दा बढी आवेदन पर्ने अनुमान गरिएको छ । यस प्राथमिक सेयरको निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेडले सम्हाल्नेछ ।