काठमाडौं । चेन्नईको एमए चिदम्बरम स्टेडियममा आज सम्पन्न आइपिएल २०२६ को रोमाञ्चक भिडन्तमा चेन्नई सुपर किंग्स र लखनऊ सुपर जायन्ट्स बीच उच्च स्कोरको प्रतिस्पर्धा भएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको लखनऊले जोश इंग्लिसको विष्फोटक ८५ रन र शाहबाज अहमदको ४३ रनको मद्दतले २० ओभरमा ८ विकेट गुमाउँदै २०३ रनको बलियो लक्ष्य प्रस्तुत गरेको थियो।
चेन्नईका लागि जेमी ओभरटनले ३ विकेट लिँदै लखनऊको मध्यक्रमलाई केही दबाबमा राखे पनि अन्तिम ओभरहरूमा रन रोक्न कठिन भएको थियो।
२०४ रनको विशाल लक्ष्य पछ्याउने क्रममा चेन्नईका ओपनर उर्विल पटेलले ऐतिहासिक प्रदर्शन गर्दै मात्र १३ बलमा अर्धशतक प्रहार गरे, जसले आइपिएल इतिहासकै सबैभन्दा छिटो अर्धशतकको कीर्तिमान बराबर गरेको छ।
पटेलको आक्रामक सुरुवात र कप्तान ऋतुराज गायकवाडको ४२ रनको योगदानले चेन्नईलाई जितको नजिक पुर्याएको थियो । खेलको अन्तिम चरणमा लखनऊका बलरहरूले केही महत्त्वपूर्ण विकेट लिए तापनि घरेलु मैदान र दर्शकको साथले चेन्नई सुपर किंग्स ५ विकेटले जितेको छ।