पर्यटक लोभ्याउँदै मेचीपारिको ‘नेपाल पार्क’

झापा । भद्रपुरलाई भारतको सीमावर्ती सहर गलगलियासँग जोड्ने मेची पुलको पूर्वी प्रवेशद्वारमा निर्माण गरिएको ‘नेपाल पार्क’ नयाँ पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । भद्रपुर नगरपालिका–७ स्थित मेचीपारिको नेपाली भू–भागमा अवस्थित यो पार्क भारतका पश्चिम बङ्गाल र विहार प्रान्तबाट नेपाल भित्रिने मुख्य नाकामै निर्माण गरिएको हो ।

पार्कमा नेपाल अङ्कित अक्षरको कलात्मक आकृति, भगवान् गौतम बुद्धको सुनौलो प्रतिमा, मनमोहक फोटो पोइन्ट, आरामदायी फलैँचा, फरफराउँदो नेपालको राष्ट्रिय झन्डा र मुलुकका प्रमुख पर्यटकीयस्थल समेटिएको होर्डिङ बोर्ड राखिएको सामाजिक अभियन्ता रोयल सञ्जयले जानकारी दिए ।

यहाँको मेची नदीमा निर्मित पक्की पुलको शतप्रतिशत भाग नेपाली भूमिमा पर्दछ भने पुलपारिको सडक र खेत पनि नेपाली भू–भाग नै हुन् । मेचीपारिको यही विशेष भूगोलमा बनेका कारण यस पार्कले नाकाबाट आवतजावत गर्ने दुवै देशका नागरिकका साथै तेस्रो मुलुकका पर्यटकको ध्यान खिच्ने गरेको छ ।

गत वैशाख १ गते विधिवत् उद्घाटन गरिएको यस पार्कमा राखिएको होर्डिङ बोर्डमा सगरमाथा, पशुपतिनाथ, लुम्बिनी, फेवाताल, कचनकबल, कीचकबद्ध र बडिमालिकाजस्ता देशका प्रमुख धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थलका तस्बिर सजाइएको छ ।

पार्कमा कङ्क्रिटबाट आकर्षक ‘नेपाल’ आकृति बनाइएको छ, जहाँ पुगेर आगन्तुक फोटो भिडियो खिचाउँदै रमाउने गर्छन् । पार्क नजिकै नाकाको सुरक्षा र व्यवस्थापनका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सारका प्रतिनिधि परिचालित छन् ।

पार्क निर्माणको परिकल्पना र नेतृत्व गर्नुभएका अभियन्ता सञ्जयका अनुसार स्थानीय दाताको स्वैच्छिक सहयोगमा करिब रु दुई लाख ५० हजारको लागतमा यो संरचना तयार भएको हो । यसका लागि उनी आफैँले श्रमदान गरेका थिए ।

“मेची पुलपारिको भू–भाग पनि नेपालकै हो भन्ने सन्देश दिन र नाकाको प्रवेश विन्दुलाई सुन्दर बनाउन यो पार्क सफल भएको छ,” सञ्जय भन्छन् । बिर्तामोड नगरपालिका–४ का अजय साहले नेपाल पार्कमा फोटो खिच्न पाउँदा खुसी व्यक्त गर्दै यसले मेचीपारिको नेपाली भू–भागमा राष्ट्रिय पहिचान स्थापित गरेको बताए।

“यो पार्कले नेपाल प्रवेश गर्ने जो कोहीको मन लोभ्याउँछ,” उनी थप्छन्, “राष्ट्रप्रतिको गौरवबोध र सकारात्मक भावना जगाउन यस्ता संरचनाले ठुलो योगदान पुर्‍याउँछन् ।” पार्कको विशिष्ट भौगोलिक अवस्थिति र प्राकृतिक सौन्दर्यका कारण यहाँ ‘पाँच पाण्डव’लगायत ठुलो पर्दाका विभिन्न चलचित्रको छायाङ्कन भइसकेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार