काठमाडौं । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले सन् १९४८ मा पहिलो संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना अभियान स्थापना गरेको दिनको स्मरणमा आज संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ । यस वर्ष संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा आगामी जुन ५ मा दिवसको प्रमुख कार्यक्रम विशेष समारोहका साथ मनाइँदै छ । कार्यक्रममा महासचिव एन्टोनियो गुटेरेसले कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका ६८ जना सैनिक, प्रहरी तथा नागरिकलाई मरणोपरान्त ‘ड्याग ह्यामार्शोल्ड पदक’ प्रदान गर्नेछन् । सम्मानित हुनेमध्ये गत वर्ष निधन हुनुभएका ५९ जना शान्ति सेना पनि रहेका नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयले जनाएको छ ।
‘ड्याग ह्यामार्शोल्ड पदक’बाट मरणोपरान्त सम्मानित हुने शान्ति सेनामध्ये नेपालका दुई जना पनि रहेका छन् । सन् २०२५ मा सेन्ट्रल अफ्रिकन रिपब्लिकमा कार्यरत रहँदा निधन भएका कर्पोरल सुरज लामिछाने तथा सन् २००० मा पूर्वी टिमोरमा सेवाका क्रममा निधन भएका सिपाही देवीराम जैसीलाई उक्त पदक प्रदान गरिनेछ ।
हाल विश्वका सबैभन्दा जटिल परिस्थितिमध्ये केही क्षेत्रमा संयुक्त राष्ट्रसङ्घको झन्डामुनि ५० हजारभन्दा बढी नागरिक, सैनिक तथा प्रहरी शान्ति सेना कार्यरत छन् । द्वन्द्वहरू झन् विभाजित, दीर्घकालीन तथा डिजिटल उपकरणको दुरुपयोग र हानिकारक सूचनाको फैलावटजस्ता नयाँ चुनौतीबाट प्रभावित बन्दै गइरहेका सन्दर्भमा शान्ति सेनाहरूले सेवा प्रदान गरिरहेका छन् । हाल ११ वटा शान्ति स्थापना मिसनमा ११८ देशबाट सुरक्षाकर्मी खटिएका छन् ।
शान्ति स्थापनामा सुरक्षाकर्मी योगदान गर्ने सबैभन्दा ठुलो मुलुक नेपाल
नेपाल संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा सुरक्षाकर्मी योगदान गर्ने सबैभन्दा ठुलो मुलुक हो । हाल नेपालले ३६४ महिलासहित चार हजार ३०० भन्दा बढी सैनिक तथा प्रहरी कर्मचारी अबेई, मध्य अफ्रिकी गणतन्त्र, साइप्रस, कङ्गो लोकतान्त्रिक गणतन्त्र, कोसोभो, लेबनान, लिबिया, मध्यपूर्व, सोमालिया, दक्षिण सुडान तथा पश्चिमी सहारास्थित संयुक्त राष्ट्रसङ्घीय शान्ति अभियानहरूमा परिचालन गरेको छ ।
शान्ति स्थापनाले राजनीतिक समाधानलाई सहयोग गर्ने, द्वन्द्व चर्किन नदिने, सर्वसाधारणको सुरक्षा गर्ने, युद्ध विरामको अनुगमन गर्ने, मानवीय सहायता पुर्याउन सहयोग गर्ने, बारुदी सुरुङ हटाउनेलगायतका महत्त्वपूर्ण कार्य गर्दै आएको संयुक्त राष्ट्रसङ्घको भनाइ छ ।
संयुक्त राष्ट्रसङ्घ महासभाले सन् २००२ मा यस दिवसको स्थापना गरेको थियो । सन् १९४८ मा सुरक्षा परिषद्ले मध्यपूर्वमा पहिलो संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना अभियान ‘संयुक्त राष्ट्रसङ्घ ट्रुस सुपरभिजन अर्गनाइजेसन’ स्थापना गरेको दिनको स्मरणमा मे २९ लाई यस दिवसका रूपमा चयन गरिएको हो ।
यस वर्षको दिवसको मुख्य नारा ‘शान्तिमा लगानी’ रहेको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनहरूले घट्दो स्रोतसाधनको सामना गरिरहेका बेला यो नाराले द्वन्द्व समाधानका लागि शान्ति स्थापना अझै पनि अन्तर्राष्ट्रिय समुदायसँग भएको सबैभन्दा प्रभावकारी माध्यममध्ये एक रहेको सन्देश दिन्छ ।
शान्ति सेनामाथिका आक्रमण मानवीय कानुनको उल्लङ्घन: महासचिव गुटेरेस
महासचिव गुटेरेसले दिवसका अवसरमा सन्देश जारी गर्दै शान्ति सेनामाथिका आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लङ्घन भएको र संयुक्त राष्ट्रसङ्घीय कर्मचारीको सुरक्षा सुनिश्चित गर्न सदस्य राष्ट्रहरूले आफ्नो दायित्व पूरा गर्नुपर्नेमा जोड दिएका छन् ।
सन्देशमा उनले भनेका छन्, “यस अन्तर्राष्ट्रिय दिवसमा हामी विगत र वर्तमानका सम्पूर्ण शान्ति सेनालाई सम्मान गर्दछौँ र उनीहरूको कार्यप्रति सम्मान तथा सुदृढ समर्थन गर्ने साझा जिम्मेवारी पुनः दोहोर्याउँछौँ । सन् १९४८ यता शान्तिको सेवामा ज्यान गुमाएका झन्डै चार हजार ५०० शान्ति सेनाप्रति हामी श्रद्धाञ्जली अर्पण गर्दछौँ, जसमा गत वर्ष निधन भएका ५९ जना पनि समावेश हुनुहुन्छ । शान्तिको सेवामा कसैले पनि ज्यान गुमाउन नपरोस् ।”
उनले थप भने, “तनाव बढिरहेको यस समयमा शान्ति स्थापना स्थायित्व र आशा पुनः स्थापित गर्ने प्रमाणित तथा लागत–प्रभावकारी उपाय हो । तर यसका लागि निरन्तर राजनीतिक समर्थन र भरपर्दो वित्तीय सहयोग आवश्यक हुन्छ ।”
विशेष समारोहका क्रममा महासचिव गुटेरेसले ‘असाधारण साहसका लागि क्याप्टेन म्बाये डियाग्ने पदक’ उरुग्वेका कर्पोरल माटियास रेयेसलाई प्रदान गर्नेछन् । उनले सन् २०२५ को प्रारम्भमा कङ्गो लोकतान्त्रिक गणतन्त्रको पूर्वी क्षेत्र गोमामा सङ्कट उत्कर्षमा पुगेका बेला साहसिक भूमिका निर्वाह गर्नुभएको थियो । त्यस्तै, दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसङ्घीय मिसनमा निजी ठेकेदारका रूपमा कार्यरत रहँदा गत वर्ष मार्चमा घेराबन्दीमा परेका सैनिकहरूको उद्धार अभियानका क्रममा मारिएका युक्रेनका स्वर्गीय सर्गी प्राइकोडकोलाई पनि उक्त पदक प्रदान गरिनेछ ।
महासचिव गुटेरेसले सन् २०२५ का लागि ‘वर्षकै उत्कृष्ट सैन्य लैङ्गिक पक्षधर’ पुरस्कार लेबनानस्थित संयुक्त राष्ट्रसङ्घीय अन्तरिम बलमा कार्यरत भारतकी मेजर अभिलाषा बराकलाई तथा ‘वर्षकै उत्कृष्ट महिला प्रहरी अधिकारी’ पुरस्कार दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसङ्घीय मिसनमा कार्यरत जर्मनीकी स्टेफानी कोनिग्सलाई प्रदान गर्नेछन् ।
संयुक्त राष्ट्रसङ्घको शान्ति अभियानसम्बन्धी उपमहासचिव जाँ–पियरे लाक्र्वाले पनि दिवसको पूर्व सन्ध्यामा सन्देश जारी गरी शान्ति स्थापनामा लगानी गर्नु भनेको स्थायित्व, रोकथाम र शान्तिको सम्भावनामै लगानी गर्नु हो भनी उल्लेख गरेका छन् । उनले भनेका छन्, “द्वन्द्व बढिरहेको र स्रोतसाधन खुम्चिँदै गएको समयमा पनि संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाले सर्वसाधारणको सुरक्षा गरिरहेका छन्, हिंसा फैलिनबाट रोकिरहेका छन् र विश्वका सबैभन्दा कठिन परिस्थितिहरूमा आशालाई जीवित राखिरहेका छन् ।”