पर्यटनमा बजेट : शालिग्राम पथदेखि सगरमाथामा खगोलीय पर्यटनसम्म

काठमाडौं । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत पर्यटन क्षेत्रलाई ‘अर्थतन्त्रको सुधारको संवाहक’ घोषणा गरेको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटमा पर्यटन क्षेत्रको विकासका लागि ‘भिजिट नेपाल २०८५’ र ‘नेपाल आरोग्य वर्ष २०२७’ जस्ता ठुला अभियानदेखि वैवाहिक र खगोलीय पर्यटनसम्मका जस्ता कार्यक्रमहरू समेटिएका छन् ।

सधैँको बजेटझैँ यो पटक पनि पर्यटन प्रवर्द्धन भन्दै विभिन्न वर्षहरू घोषणा भएका छन् । बजेटमा सरकारले दुई वर्षलाई विशेष वर्षको रूपमा मनाउने घोषणा गरेको हो । बजेट अनुसार सन् २०२७ लाई ‘नेपाल आरोग्य वर्ष’का रूपमा मनाइनेछ, जसले नेपाललाई विश्वकै प्रमुख वेलनेस गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । त्यसैगरी ‘भिजिट नेपाल वर्ष २०८५’ को सफल कार्यान्वयनका लागि आगामी आर्थिक वर्षदेखि नै सघन तयारी सुरु गरिने बजेटमा उल्लेख छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी सभामा घोषणा गरेअनुसार नै जनकपुरलाई विश्वकै प्रमुख विवाह गन्तव्यका रूपमा ब्रान्डिङ गर्ने योजना बजेटमा समावेश भएको छ । यसका लागि विवाह प्रयोजनका लागि आउने विदेशी पर्यटकहरूलाई भन्सार प्रक्रियामा सहजीकरण गर्ने र उनीहरूले ल्याउने सामानको धरौटी फिर्ता प्रक्रियालाई स्वचालित बनाउने विशेष व्यवस्था गरिएको बजेटमा उल्लेख छ । यस्तै पर्यटनमा विविधीकरण ल्याउन सगरमाथा आधार शिविरमा खगोलीय पर्यटन प्रवद्र्धन गर्न अब्जर्वेटरी केन्द्र स्थापना गरिनेछ ।

धार्मिक र सांस्कृतिक सर्किटहरूको विकास

बजेटले ‘निर्वाण पथ’ र ‘शालिग्राम पथ’ जस्ता एकीकृत पर्यटकीय सर्किटहरूको विकासमा जोड दिएको छ । लुम्बिनीदेखि मुक्तिनाथसम्मका धार्मिक स्थलहरूलाई समेटेर ‘निर्वाण पथ’को विकास गरिनेछ । साथै त्रिवेणीधाम, देवघाट, रुरु क्षेत्र, कागबेनी र मुक्तिनाथलाई एकीकृत गरी ‘शालिग्राम पथ’ निर्माण गरिने बजेटमा उल्लेख छ ।

सरकारले मुस्ताङ र मनाङका २०० वर्षभन्दा पुराना ऐतिहासिक बौद्ध गुम्बाहरूको संरक्षणका लागि विशेष परियोजना ल्याउने र कपिलवस्तुको तिलौराकोट, जनकपुरधाम र गोकर्णेश्वरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्ने बजेटमा उल्लेख गरेको छ ।

ईयूको एयर सेफ्टी लिष्ट बाहिरिन खोज्ने, भरतपुरमा रात्रिकालिन उडान

हवाई क्षेत्रमा नेपालको प्रतिष्ठा सुधार्न सरकारले युरोपियन युनियनको ‘एयर सेफ्टी लिस्ट’बाट बाहिर निस्कन विशेष पहल गर्ने प्रतिबद्धता जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति, निजगढ विमानस्थलको निर्माण मोडालिटी टुङ्गो लगाउने र भरतपुर विमानस्थलमा रात्रिकालीन उडान सञ्चालन गर्ने बजेटमा उल्लेख छ ।

साथै पहाडी क्षेत्रमा आधुनिक हिल स्टेसन हरू निर्माण गर्ने र ६ हजार मिटरभन्दा अग्ला र हालसम्म नामकरण नगरिएका हिमालहरूको नामकरण गरी आरोहणका लागि खुला गरिनेछ । पदयात्री र आरोहीहरूको सुरक्षाका लागि भरपर्दो आकस्मिक उद्धार प्रणाली विकास गरिने मन्त्री वाग्लेले घोषणा गरे ।

त्यस्तै निजी क्षेत्रलाई पर्यटनमा आकर्षित गर्न उच्च मूल्यका पर्यटक लक्षित रिसोर्ट र होटल निर्माणमा भौतिक तथा वित्तीय प्रोत्साहन दिइने भनिएको छ । पर्यटन क्षेत्रका लागि दीर्घकालीन स्थिर ब्याजदरमा कर्जा प्रवाहको नीतिगत व्यवस्था गरिएको छ । सामाजिक समावेशितालाई ध्यानमा राख्दै मधेस, कर्णाली र सुदूरपश्चिमका सघन दलित बस्तीहरूलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न ‘नमुना होमस्टे’ कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ ।

स्थलमार्गबाट नेपाल प्रवेश गर्ने पर्यटकहरूका लागि सबै मूल भन्सार कार्यालयमा सवारी साधनको अस्थायी पैठारी घोषणा र शुल्क भुक्तानी अनलाइनबाटै गर्न सकिने गरी प्रणाली सुधार गरिने बजेटमा उल्लेख छ, यसले भारतलगायत छिमेकी मुलुकबाट आफ्नै सवारी साधनमा आउने पर्यटकलाई सहज हुने सरकारको विश्वास छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार