
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले ‘बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास’ (बिम्स्टेक) लाई क्षेत्रीय सहयोगका लागि एक गतिशील मञ्चका रूपमा उल्लेख गर्दै यसले क्षेत्रको विविधता, जीवन्तता र साझा सम्भावनालाई प्रतिविम्बित गर्ने बताएका छन् ।
बिम्स्टेकको २९औँ वार्षिकोत्सवका अवसरमा आज जारी सन्देशमा उनले यातायात, व्यापार तथा डिजिटल सञ्जालमा सम्पर्क सुदृढ गरी अर्थतन्त्रहरूको अझ गहिरो एकीकरणलाई प्रवर्द्धन गर्नुपर्ने आवश्यकतामा जोड दिए ।
बिम्स्टेकको दीर्घकालीन शक्ति यसको जनतामा निहित रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले पर्यटन प्रवर्द्धन, युवा तथा उद्यमीहरूका लागि अवसर सिर्जना तथा जलवायु परिवर्तन र प्राकृतिक विपद्बाट उत्पन्न जोखिमप्रति प्रतिरोध क्षमता अभिवृद्धिका लागि थप प्रयास गर्न आह्वान गरे ।
उनले एकआपसमा जोडिएको, उत्थानशील तथा समृद्ध बिम्स्टेक क्षेत्र निर्माणका लागि सदस्य राष्ट्रहरूसँग नजिकबाट सहकार्य गर्न नेपाल सदैव प्रतिबद्ध रहेको बताएकाे पराराष्ट्र मन्त्रालयले जारी गरेको सन्देशमा उल्लेख छ ।
छुट्टै सन्देशमा परराष्ट्रमन्त्री शिशिर खनालले सन् १९९७ मा स्थापना भएदेखि बिम्स्टेकले हासिल गरेको निरन्तर प्रगतिप्रति प्रशंसा व्यक्त गर्दै क्षेत्रीय सहयोग सुदृढीकरणमा बिम्स्टेक वडापत्र (चार्टर) को महत्त्वलाई उजागर गरेका छन् । उनले हासिल भएका उपलब्धीहरूलाई सुदृढ गर्न, साझेदारीलाई अझ मजबुत बनाउन तथा कार्यान्वयनको प्रभावकारिता अभिवृद्धि गर्नुपर्ने आवश्यकतामा जोड दिए ।
बिम्स्टेकप्रतिको प्रतिबद्धता पुनः व्यक्त गर्दै परराष्ट्रमन्त्री खनालले जनस्तरको सम्पर्क क्षेत्रको नेतृत्वकर्ता राष्ट्रका रूपमा नेपाल पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदानप्रदान तथा क्षेत्रभरिका जनताबीच अझ गहिरो जनस्तरीय सम्बन्ध विस्तार गर्न तत्पर रहेको जानकारी दिए ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम