
म्याग्दी । म्याग्दीमा वैदेशिक रोजगारी त्यागेर पशुपालनमा लागेका युवाले रहरलाग्दो सफलता प्राप्त गरेका छन् । बेनी नगरपालिका–७ कुरिलाखर्कका ४२ वर्षीय सुरेश ढुङ्गानाले गाईभैँसी पालनबाट आकर्षक कमाई गरी सफलता प्राप्त गरेका हुन् । करिब एक दशक लामो वैदेशिक रोजगार त्यागेर विसं २०७२ देखि पशुपालन सुरु गरेका ढुङ्गाना जिल्लामा गाईभैँसी धेरै पाल्ने सफल अगुवा कृषकका रूपमा परिचित छन् ।
सुरुमा एक–एक वटा गाई र भैँसी खरिद गरेर ‘ढुङ्गाना कृषि तथा पशुपक्षी फार्म’ सञ्चालनमा ल्याएका उनले अहिले दैनिक ३०० लिटर दूध बिक्री गर्दै आएका छन् । उनको फार्ममा अहिले ४५ वटा माउसहित ५० वटा गाईभैँसी छन् । उनले दैनिक रूपमा करिब ३५ हजार बराबरको दूध बिक्री गर्दै आउनुभएको छ । ढुङ्गानाको फार्ममा उन्नत जातका मुर्रा भैँसी तथा होलस्टेन र जर्सी गाईपालन हुँदै आएको छ । “एक दशक बढी समय खाडी मुलुकमा पसिना बगाएँ, आफ्नै गाउँ फर्किएर पशुपालन र कृषिबाटै अघि बढ्ने लक्ष्यका साथ वैदेशिक रोजगारलाई बिट मारेको थिएँ, आज आफैँले सुरु गरेको कर्मबाट सफलता मिलेको छ, यो पेसाबाट खुसी र सन्तुष्टि छु”, ढुङ्गानाले भने ।
पशुपालनबाट ढुङ्गानाले आफू स्वरोजगार र आत्मनिर्भर मात्रै बन्नुभएको छैन, अन्य पाँच जनालाई नियमित रूपमा रोजगारीको अवसर सिर्जना गरेका छन् । उनको फार्ममा तीन जनाले आवासीय रूपमा नै रोजगारमा आबद्ध छन् भने अन्य दुई जना दैनिक रूपमा फार्ममा कामका लागि आउने गर्छन् । बिहान सबेरैदेखि राति अबेरसम्म फार्मका गाई भैँसीको घाँस, पानी र स्याहारमा खटिने ढुङ्गानाले अरूको देशमा पसिना बगाउनुभन्दा आफ्नै गाउँठाउँमा रहेका सम्भावनामा भविष्य खोज्नुपर्ने बताउँछन् ।
ढुङ्गानाको फार्ममा उत्पादन हुने दूध बेनी बजारकै धौलागिरि डेरी उद्योगमा खपत हुने गरेको छ । बेनी बजारदेखि नजिकको दूरीमा फार्म सञ्चालन भएकाले उहाँले मोटरसाइकलमै दूधका क्यान राखेर दूध ढुवानी गर्दै आएका छन् । फार्ममा बिहान १ः०० बजेदेखि र दिउँसो २ः०० बजेसम्म गाईभैँसी दुहुन सुरु गर्ने र ४ः०० बजेको समयभित्र उद्योगमा दूध ढुवानी गरी पुर्याउने समय तालिका छ । डेरी उद्योगले प्रतिलिटर १२० रुपैयाँमा दूध खरिद गर्दै आएको छ । दूध उत्पादन नियमित हुने र डेरी उद्योगले सहजै खरिद गर्ने भएकाले दूध बिक्रीका लागि थप बजारको खोजी गर्नुपर्ने बाध्यता रहेको छैन ।
कुरिलाखर्कमा आफ्नै पुर्ख्यौली जग्गामा फार्म सञ्चालन गरेका ढुङ्गानाले पशुपालनबाट भएको आम्दानीबाट थप जग्गा खरिद गरी फार्मको क्षमता बढाएका छन् । उनको फार्ममा पूर्वाधार र गाईभैँसी खरिदमा अहिलेसम्म साढे दुई करोड बढी लगानी भइसकेको छ । जिल्लामै ठुलो र नमुना फार्मका रूपमा विकास भइरहेको यस फार्मको अवलोकनका लागि विभिन्न ठाउँबाट कृषक पुग्ने गरेका छन् । पशुपालनबाट सफलता प्राप्त गरेका युवा कृषक ढुङ्गानाले जिल्लास्तर र प्रदेशस्तरबाट विभिन्न पुरस्कार प्राप्त गरिसकेका छन् ।
विसं २०८० मा ‘ढुङ्गाना कृषि तथा पशुपक्षी फार्म’ गण्डकी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयबाट पुरस्कृत भएको थियो । व्यवस्थित र व्यावसायिक रूपमा पशुपालन गरेका ढुङ्गानाले स्थानीय, प्रदेश र सङ्घीय सरकार मातहतका कार्यालयबाट प्राप्त सहयोगले आफूलाई पशुपालन गर्न हौसला थपिएको बताउँछन् । फार्मबाट गाईभैँसीको गोबर मल बिक्री हुने गरेको छ ।
बेनी नगरपालिकाका सहायक पशु चिकित्सक प्रदीप गौतमले ढुङ्गाना कृषि तथा पशुपक्षी फार्म नगरपालिका र जिल्लामै उत्कृष्ट रहेको बताए । उनले पशुपालक कृषकलाई नगरपालिकाबाट औषधि उपचारमा प्राविधिक सहयोगका साथै विगत तीन वर्षदेखि नगरपालिकाले उत्पादनमा आधारित अनुदानसमेत उपलब्ध गराउँदै आएको जानकारी दिए।













समाचार
राष्ट्रियसभाको बैठक बस्दै
धितोपत्र बोर्डद्वारा मार्जिन लेण्डिङ र सर्ट सेलिङसम्बन्धी अवधारणापत्र सार्वजनिक, सरोकारवालासँग सुझाव माग
हिमपहिरोपछि निर्मल पुर्जासहित १० जना आरोही सम्पर्कविहीन
मौलिक संस्कृतिः खिर खाएर मनाइँदै साउन १५
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल