
कञ्चनपुर। थारू समुदायको पीडा, सङ्घर्ष र मुक्तिको इतिहासलाई जीवन्त बनाउँदै पर्यापर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीस्थित विजयसाल सामुदायिक घरबास (होमस्टे)मा पञ्चधातुको मूर्ति स्थापना गरिने भएको छ ।
मुक्त कमैया महिलाको जीवन सङ्घर्ष झल्किने मूर्तिले थारू समुदायका मुक्त कमैया समुदायको इतिहास संरक्षणसँगै पर्यटक आकर्षण बढाउने अपेक्षा गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको ३५ लाख रुपैयाँ लागतमा सुन, चाँदी, तामा, पित्तल र फलाम मिसाएर पञ्चधातुको मूर्ति निर्माण गर्न लागिएको हो । होमस्टे परिसरमा स्थापना गरिने उक्त मूर्तिले जमिन्दारी प्रथाका बेला कमैया महिलाले भोग्नुपरेको कठिन जीवन र त्यसबाट प्राप्त मुक्तिको सन्देश प्रस्तुत गर्नेछ ।
विजयसाल होमस्टे सञ्चालक समितिका अध्यक्ष परदेशनीकुमारी डगौराले मूर्ति निर्माणको कामको ठेक्कामार्फत ललितपुरमा भइरहेको जानकारी दिइन् । मूर्ति निर्माणको ८० प्रतिशत काम सम्पन्न भइसकेको उनले जानकारी दिइन् । “हामीले जमिन्दारको घरमा श्रम गर्न बाध्य मुक्त कमैया महिलाको अवस्थालाई झल्काउने पूर्णकदको मूर्ति स्थापना गर्न लागेका हौँ”, उनले भनिन्, “यसले नयाँ पुस्तालाई विगतको इतिहास बुझ्न र मुक्त कमैया आन्दोलनको महत्वबारे जानकारी दिन सहयोग पुग्नेछ ।” मूर्ति राख्नका लागि करिब रु पाँच लाखको लागतमा फाउन्डेसन निर्माणको काम भइरहेको उनले बताइन् । असार मसान्तभित्र निर्माण तथा स्थापना कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
थारू समुदायको मौलिक संस्कृति, रहनसहन र परम्परालाई संरक्षण गर्दै सञ्चालनमा रहेको विजयसाल होमस्टे अहिले पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । यहाँ स्वदेशी तथा विदेशी पर्यटकले थारू समुदायका मौलिक परिकार, सांस्कृतिक प्रस्तुति र ग्रामीण जीवनशैलीको अनुभव लिन पाउने व्यवस्था छ । हाल छवटा घरमा सञ्चालन भइरहेको होमस्टे व्यवसायमा आबद्ध प्रतिपरिवारले मासिक रु ३० देखि रु ३५ हजारसम्म आम्दानी गर्दै आएका छन् । होमस्टे सञ्चालकका अनुसार पछिल्ला वर्षहरूमा आन्तरिक पर्यटकको आगमन बढ्दै गएको छ भने विदेशी पर्यटक पनि थारू संस्कृति नजिकबाट बुझ्न यहाँ पुग्ने गरेका छन् ।
बस्तीका अगुवा शोभा खुनाले मूर्ति स्थापनापछि होमस्टेको पहिचान अझ फराकिलो हुने विश्वास व्यक्त गरिन् । “मूर्ति बनेपछि पर्यटकले यहाँ बस्नेमात्र होइन, मुक्त कमैयाको इतिहास पनि बुझ्न पाउनेछन्”, उनले भनिन, “हाम्रा पुर्खाले भोगेको दुःख, सङ्घर्ष र मुक्तिको यात्रालाई पुस्तान्तरण गर्न यो मूर्ति महत्त्वपूर्ण माध्यम बन्नेछ ।”
उहाँका अनुसार मूर्तिले बस्तीको सांस्कृतिक तथा ऐतिहासिक महत्व उजागर गर्नुका साथै स्थानीय युवापुस्तालाई आफ्नो इतिहासप्रति गर्व गर्न प्रेरित गर्नेछ । पर्यटनसँगै इतिहास र संस्कृतिलाई जोड्ने उद्देश्यले निर्माण हुन लागेको उक्त मूर्तिले विजयसाल होमस्टेलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।













समाचार
नेपालले न्युजिल्यान्ड ‘ए’ सँग खेल्ने
करदाता प्रोत्साहन उपहार कार्यक्रमको प्राविधिक तयारी पूरा, शुक्रबार १५ जनालाई एक-एक लाख र एक जनालाई १० लाख उपहार घोषणा हुने
लालीगुराँस र मनास्लु सेमिफाइनलमा
करिब ६४७ किलो गाँजासहित दुई जना पक्राउ
ट्रम्पको हेलिकप्टर यात्रुवाहक विमानसँग अत्यन्त नजिक पुगेको घटना छानबिनमा
आयल निगमको कार्यकारी निर्देशकमा साह नियुक्त
अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण आवश्यक : अध्यक्ष अग्रवाल
लोअर ठुलोखोला जलविद्युत आयोजना निर्माणका लागि नेपाल बैंक र चितवन इनर्जीबीच कर्जा सम्झौता
नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदका लागि पाँच जना परे संक्षिप्त सूचीमा, २५ गते अन्तर्वार्ता हुने
सूचीकृत कम्पनीहरूलाई असोज मसान्तभित्र वार्षिक नवीकरण शुल्क बुझाउन नेप्सेको निर्देशन