
म्याग्दी । धवलागिरी गाउँपालिका–४ मा रहेको अर्मके झरना ओझेलमा परेको छ । धौलागिरि चक्रीय पदमार्गको अन्तिम मानवबस्ती बगर जेल्तुङ नजिकै रहेको अर्मके झरना व्यवस्थापन, पूर्वाधार र प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको छ । यो झरना सुन्दर, मनमोहक र आकर्षक देखिन्छ । अग्लो पहाडको फेदीमा दुईवटा तहमा छङछङ गर्दै झर्ने अर्मके झरनाको फेदीबाट म्याग्दी नदी बग्छ ।
करिब २०० मिटर अग्लो झरनाको फेदीमा तलाउ छ । छेउमै प्राकृतिक तातोपानीको कुण्ड रहेको छ । झरनालाई पर्यटकले टाढैबाट अवलोकन गर्ने र तस्बिर भिडियो लिने गर्छन् । रमणीय भए पनि अर्मके झरना सुनसान हुन्छ ।
अर्मके झरना र प्राकृतिक तातोपानी कुण्डमा पूर्वाधार निर्माण, प्रचारप्रसार र व्यवस्थापन गरी पर्यटन विकासका लागि जनप्रतिनिधिले चासो देखाएका छन् । धवलागिरि गाउँपालिका–४ का वडासदस्य हरिप्रसाद तिलिजाले झरना र तातोपानी कुण्डलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गराउने प्रयास गरेको बताए ।
“म्याग्दीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माणका क्रममा अर्मके झरना नजिकै हालै सडक पुुगेको छ”, उनले भने, “सडक सुविधासँगै अर्मके झरनामा पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरिएको छ ।” सडकदेखि तातोपानी कुण्ड र अर्मके झरनामा जानका लागि म्याग्दी नदीमा झोलुङ्गे पुल निर्माण गर्नुपर्ने आवश्यकता छ । हाल हिउँदयाममा काठको अस्थायी साँघु र डाइभर्सन सडकबाट झरनाको फेदी र तातोपानी कुण्डमा पुग्न सकिन्छ ।
बर्खायाममा झरनाको पानी उडेर कुण्डको टहराका काठ भिजेर कुहिने समस्या छ । जेल्तुङदेखि १० मिनेट पैदलयात्रा र पाँच मिनेट गाडीको यात्रामा अर्मके झरना र तातोपानी कुण्डमा पुग्न सकिन्छ । जमिनभित्रबाट ५० डिग्री सेल्सियस तापक्रममा निस्कने तातोपानी सङ्कलन गरिएको बगर तातोपानीको पोखरीमा शरीर डुबाएर स्नान गरेमा चोटपटक लागेको, गानोगोला, ग्यास्ट्रिक, छालासम्बन्धी स्वास्थ्य समस्या निको हुने जनविश्वास छ ।
बगर हुँदै धौलागिरि हिमाल आरोहण गर्न र चक्रीय धौलागिरिको पदयात्रामा जाने पर्यटकलाई तातोपानी र झरनामा झुलाउन तथा उनीहरूको बसाइ सम्ब्याउन सहयोग पुग्ने देखिन्छ ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हर्मुजमा अलपत्र परेका जहाजहरू ‘सुपर-स्प्रेडर’ बन्न सक्ने चेतावनी
अप्पर सोलु हाइड्रोले एक वर्षमा कमायो २० करोड ८७ लाख नाफा, इपीएस कति ?
पञ्चकन्या माई हाइड्राको वित्तीय अवस्था : करिब ७ करोडको नोक्सानी पुरा गरि ६ करोड ६८ लाख नाफामा
२८८ प्रतिशतले बढ्यो तेह्रथुम पावर कम्पनीको नाफा, अन्य सूचक कस्ता ?
अन्तर्राष्ट्रिय हवाई भाडा कम गर्न माग
देशका विभिन्न भागमा सडकमा यातायात प्रभावित, कुन कुन राजमार्गमा रोक ?
गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित
विदेशबाट भाइले पठाइदिएको मोबाइलले खिचेको तस्बिर बन्यो उत्कृष्ट