
भोजपुर । भोजपुरमा वन संरक्षण, जैविक विविधता प्रवद्र्धन तथा वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यले ‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । डिभिजन वन कार्यालय भोजपुरको पहलमा सञ्चालित यस कार्यक्रम अन्तर्गत जिल्लाका चार वटा सामुदायिक वन क्षेत्रमा संरक्षण पोखरी निर्माण गरिएको हो ।
डिभिजन वन कार्यालय भोजपुरका प्रमुख खुद्रुस मियाले आहाले सामुदायिक वन, ढोडे बैखाके सामुदायिक वन, भद्रासे चारे भिर सामुदायिक वन र हर्कटे आमलाला सामुदायिक वनमा संरक्षण पोखरी निर्माण सम्पन्न गरिएको जानकारी दिए । भौगोलिक रूपमा पानीको अभाव हुने र गर्मी याममा सुक्खा हुने यी क्षेत्रमा निर्माण गरिएका पोखरीले वन्यजन्तुका लागि स्थायी पानीको स्रोतको रूपमा काम गर्ने उनको भनाइ छ ।
“सामुदायिक वनमा पोखरी निर्माणकार्यक्रम सञ्चालन गरेका छौँ,” प्रमुख मियाले भने, “हालसम्म चार वटा वनमा पोखरी निर्माण सम्पन्न गरेका छौँ । भावी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने लक्ष्य छ ।”
उनका अनुसार पछिल्लो समय जलवायु परिवर्तनका कारण वर्षा प्रणालीमा आएको असन्तुलनले वन क्षेत्रमा पानीको अभाव बढ्दै गएको छ । यस्तो अवस्थामा संरक्षण पोखरी निर्माणले वन्यजन्तु, वनस्पति तथा समग्र पारिस्थितिक प्रणालीलाई जोगाउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । “वन संरक्षणको दायरा केवल रूख संरक्षणमा सीमित छैन,” उनले भने, “पानी, माटो र जैविक विविधताको सन्तुलन कायम गर्नु पनि उत्तिकै आवश्यक छ ।”
वन अधिकृत नर मुहमत मियाले संरक्षण पोखरी निर्माणको बहुआयामिक महत्व रहेको बताए । वन्यजन्तुका लागि पानीको सुनिश्चिततासँगै यी पोखरी वन डढेलो नियन्त्रणमा पनि प्रभावकारी बन्ने उनको भनाइ छ ।
“डढेलोको समयमा तत्काल पानी उपलब्ध हुँदा आगलागी नियन्त्रण गर्न सहज हुन्छ,” उनले भने, “यसले वन क्षति न्यूनिकरण गर्न प्रत्यक्ष योगदान दिन्छ । साथै, वन क्षेत्रमा आपतकालीन स्रोतको रूपमा पनि यसको उपयोग गर्न सकिन्छ ।”
त्यसैगरी, संरक्षण पोखरीले भूमिगत पानी पुनर्भरण (रिचार्ज) मासमेत सहयोग पु¥याउने जनाइएको छ । वर्षायाममा सङ्कलित पानी पोखरीमा सञ्चित भई बिस्तारै जमिनमा सोसिने हुँदा आसपासका क्षेत्रको जलस्तर कायम राख्न मद्दत पुग्ने कार्यालयकोभ भनाइ छ । यसले दीर्घकालीन रूपमा स्थानीय कृषिमासमेत सकारात्मक प्रभाव पार्ने सरोकारवाला बताउँछन् । विशेषगरी वर्षामा सञ्चित पानी सुक्खा याममा उपयोगी हुने भएकाले कृषिमा निर्भर स्थानीय समुदायलाई अप्रत्यक्ष लाभ पुग्ने देखिएको छ ।
आर्थिक वर्ष २०८२/८३ मा प्रदेश सरकारबाट प्राप्त १० लाख रुपैयाँ बजेटबाट चार वटा रिचार्ज पोखरी निर्माण गरिएको कार्यालयले जनाएको छ । कार्यालयले आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ विस्तार गर्ने योजना बनाएको छ ।
सामुदायिक वन उपभोक्ता समूहको सक्रिय सहभागिताले निर्माणकार्यलाई सहज बनाएको कार्यालयको भनाइ छ । स्थानीयबासी रामकुमार राईले संरक्षण पोखरी निर्माणले समुदायमा सकारात्मक परिवर्तन ल्याएको बताए । “पहिले गर्मी याममा वन एकदम सुक्खा हुन्थ्यो,” उनले भने, “पानीको अभावले वन्यजन्तु गाउँतिर आउने र मानव–वन्यजन्तु द्वन्द्व बढ्ने समस्या थियो । पोखरी निर्माणले त्यो समस्या समाधानमा सहयोग पुग्ने हाम्रो अपेक्षा छ ।”
यस्ता साना तर प्रभावकारी पूर्वाधारले दीर्घकालीन रूपमा ठूलो वातावरणीय लाभ दिने सरोकारवालाहरूको भनाइ छ । विशेषगरी पहाडी भू–भागमा पानीको स्रोत व्यवस्थापन चुनौतीपूर्ण हुने भएकाले संरक्षण पोखरीजस्ता संरचना अत्यन्तै उपयोगी मानिन्छन् ।
डिभिजन वन कार्यालय, स्थानीय तह र सामुदायिक वन उपभोक्ता समूहबीचको सहकार्यमा अघि बढाइएको यो कार्यक्रम भोजपुरमा वन संरक्षणको एक सफल अभ्यासका रूपमा स्थापित हुँदै गएको छ । आगामी दिनमा जिल्लाका अन्य सामुदायिक वन क्षेत्रमासमेत यस्ता कार्यक्रम विस्तार गर्ने लक्ष्य लिइएको कार्यालयले जनाएको छ ।
पोखरी निर्माणले दीगो विकास र वातावरण संरक्षणबीच सन्तुलन कायम गर्दै वन क्षेत्रलाई हरित बनाउने आधार तयार पार्ने स्थानीय जानकारहरुको भनाइ छ ।













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो