
चितवन । चितवनमा कृष्णसार संरक्षण तथा पर्या-पर्यटनको नयाँ क्षेत्र स्थापना गर्ने प्रक्रिया प्राविधिक एवं प्रशासनिक अल्झनका कारण सुस्त बनेको छ । कृष्णसार अनुकूलको खुला वातावरण बनाउन रत्ननगरको टिकौली चौर क्षेत्रका केही रुख हटाउनुपर्ने निर्णय मन्त्रालयस्तरबाट स्वीकृत हुन नसक्दा कृष्णसार स्थानान्तरणमा ढिलाइ भएको हो ।
डिभिजन वन कार्यालय चितवनका अनुसार कृष्णसार खुला घाँसे मैदानमा बस्न रुचाउने प्रजाति भएकाले प्रस्ताव गरिएको क्षेत्रको झाडी सफा गर्न र केही रुखहरू व्यवस्थापन गर्न अनिवार्य देखिएको छ । प्राविधिक टोलीको गहन अध्ययन र छलफलपछि सो क्षेत्रबाट १२९ वटा रुखहरू हटाउनुपर्ने निष्कर्ष निकालिएको थियो । टिकौलीस्थित पञ्चकन्या सामुदायिक वनको १८ हेक्टर क्षेत्रफलमा तारबार, घाँसेमैदान र दुई वटा पोखरी निर्माण भइसकेका छन् ।
डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार रुख कटानको अनुमतिका लागि राष्ट्रिय निकुञ्ज विभाग, वन विभाग, वन तथा वातावरण मन्त्रालय र बागमती प्रदेश मन्त्रालयमा प्रतिवेदन बुझाइसकिएको छ । प्रतिवेदन पठाएको एक महिनाभन्दा बढी समय भइसके पनि रुख काट्ने अन्तिम निर्णय अझै आउन नसकेकाले थप प्रक्रिया अघि बढाउन ढिलाइ भएको उनले बताए ।
सुरक्षाका दृष्टिकोणले रुखहरू नहटाई कृष्णसार ल्याउँदा ती वन्यजन्तु चितुवालगायत अन्य हिंस्रक प्रजातिको सहज आहारा बन्ने जोखिम रहने वन कार्यालयको प्राविधिक विश्लेषण छ । जानीजानी कृष्णसारलाई जोखिममा पार्नुभन्दा प्रशासनिक प्रक्रिया पूरा गर्न केही हप्ता पर्खिनु उपयुक्त हुने उनले बताए ।
रत्ननगर नगरपलिकको पहलमा विसं २०७७ मा अध्ययन सुरु गरी २०७८ देखि कृष्णसार ल्याउन आवश्यक पूर्वाधार निर्माणको काम थालिएको थियो । पश्चिम नेपालमा मात्रै पाइने लोपोन्मुख कृष्णसारलाई रत्ननगर नगरपालिका-९ स्थित टिकौली क्षेत्रमा निर्माण गरिएको संरक्षण केन्द्रमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट १८ वटा ल्याउने तयारी भइरहेको हो ।













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो