पुरोहितहरुलाई कर्मकाण्ड कक्षा

तुलसीपुर । दाङका धेरै पुरोहित पुस्तौँदेखि परम्परागत रूपमा कर्मकाण्ड गर्दै आए पनि औपचारिक अध्ययनको अवसरबाट वञ्चित थिए । अहिले भने नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत जनता विद्यापीठ विजौरीले सञ्चालन गरेको छ महिनाको माध्यमिक तहको कर्मकाण्ड तालिमले उनीहरूलाई शास्त्रीय ज्ञान र शुद्ध उच्चारण सिक्ने अवसर प्रदान गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँ निवासी यमराज उपाध्याय लामो समयदेखि पुरोहित कर्ममा संलग्न छन् । सामान्य अध्ययनका आधारमा पुरोहितको काम गर्दै आए पनि औपचारिक रूपमा कर्मकाण्ड अध्ययन गर्ने अवसर नपाएको उनी बताउँछन् । “सामान्य अध्ययन त थियो, तर सबै विषयको गहिरो ज्ञान रहेनछ,” उनले भने, “वर्षौंदेखि पुरोहित कर्म गर्दै आए पनि अहिले गुरुहरूबाट आफूले गरेका कमीकमजोरी थाहा पाउने र शुद्ध उच्चारण सिक्ने अवसर मिलेको छ ।”

तुलसीपुर–९ दोघरे निवासी गणेश आचार्य पनि २२ वर्षको उमेरदेखि पुरोहित कर्ममा सक्रिय हुनुहुन्छ । हाल करिब ६० वर्ष पुगेका उनले बाजे र बुबाबाट सिकेको ज्ञानका आधारमा कर्मकाण्ड गर्दै आएका थिए । “हामीले औपचारिक रूपमा पढेका थिएनौँ, बाउबाजेले गरेको देखेर सिक्यौँ र त्यही परम्परालाई निरन्तरता दियौँ,” उनले भने ।

यमराज उपाध्याय र गणेश आचार्यजस्ता परम्परागत रूपमा पुरोहित कर्म गर्दै आएका धेरै व्यक्ति अहिले उक्त तालिममा सहभागी भएका छन् । उनीहरूले जन्म, विवाह, मृत्यु तथा अन्य धार्मिक संस्कारका अवसरमा समाजलाई सेवा दिँदै आएका छन् ।

जनता विद्यापीठ विजौरीका प्रशिक्षक बद्रीप्रसाद गौतमका अनुसार परम्परागत रूपमा कर्मकाण्ड गरिरहेका पुरोहितको ज्ञानलाई व्यवस्थित र शास्त्रीय बनाउन छ महिनाको माध्यमिक तहको कर्मकाण्ड पाठ्यक्रम सञ्चालन गरिएको हो । “उहाँहरूले गाउँ–गाउँमा पुगेर धार्मिक संस्कार सम्पन्न गराउँदै आएको छ, जुन समाजसेवा पनि हो,” गौतमले भने, “छ महिनाको पाठ्यक्रम पूरा गरेपछि उहाँहरूको ज्ञान र कार्यसम्पादन अझ प्रभावकारी हुने अपेक्षा गरेका छौँ ।”

पाठ्यक्रम सफलतापूर्वक पूरा गरेपछि उनीहरूले माध्यमिक तहको कर्मकाण्ड विषयको प्रमाणपत्र प्राप्त गर्ने व्यवस्था रहेको प्रशिक्षक गौतमले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया