बिम्स्टेकको सहयोग र सुदृढीकरणसम्बन्धी उच्चस्तरीय नीतिगत संवाद सम्पन्न

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को क्षेत्रीय सहयोग, एकीकरण तथा साझा समृद्धिका लागि जनस्तरबीचको सम्पर्क सुदृढीकरण विषयक संवाद कार्यक्रम आज सम्पन्न भएको छ । उक्त कार्यक्रम बिम्स्टेक क्षेत्रभित्र जनस्तरको सम्पर्क विस्तार र क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको हो ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा मुख्य वक्तव्य दिँदै बिम्स्टेकका महासचिव इन्द्रमणि पाण्डेले विगत तीन दशकमा बिम्स्टेकले हासिल गरेका उपलब्धि, जारी संस्थागत सुधार तथा आगामी प्राथमिकताबारे जानकारी गराए । उनले बिम्स्टेकको शान्तिपूर्ण, समृद्ध र उत्थानशील बङ्गालको खाडी क्षेत्र निर्माण गर्ने लक्ष्य पूरा गर्न जनस्तरबीचको सम्पर्क, आबद्धता, व्यापार तथा आर्थिक सहयोग अभिवृद्धिको महत्वमा जोड दिए । साथै, बिम्स्टेकमार्फत क्षेत्रीय सहयोग प्रवद्र्धन तथा साझा अवसर र चुनौतीको सम्बोधनमा नेपालको बढ्दो योगदानको प्रशंसा गरे ।

कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव किरण शाक्यले बिम्स्टेकको विकासक्रम, उपलब्धि तथा क्षेत्रीय एकीकरणका चुनौतीबारे समीक्षा गरे । उनले सदस्य राष्ट्रबीच जनस्तरको सम्पर्क, आबद्धता र आपसी समझदारीलाई अझ सुदृढ बनाउन यस्ता संवाद आवश्यक रहेको बताउँदै कार्यक्रम आयोजनाका लागि प्रतिष्ठानको प्रशंसा गरे । साथै, बिम्स्टेकलाई जनमुखी क्षेत्रीय समुदायका रूपमा विकास गर्ने प्रक्रियामा नेपालको प्रतिबद्धता पुनः दोहोर्याए ।
प्रतिष्ठानका कार्यकारी निर्देशक रोजिना ताम्राकारले बिम्स्टेकले जनस्तरबीचको सम्पर्क र सहकार्यलाई सुदृढ गर्दै क्षेत्रीय सहयोग प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको बताइन् । उनले यस क्षेत्रका जनताको साझा समृद्धि र कल्याणका लागि क्षेत्रीय साझेदारीलाई अझ बलियो बनाउनुपर्ने आवश्यकता औँल्याइन् ।
कार्यक्रममा नेपालका लागि थाइल्यान्डका राजदूत डोनाविट पुल्सावत तथा नेपालका लागि श्रीलङ्काका राजदूत रुवन्थी डेल्पिटियाले पनि सहभागिता जनाएका थिए । साथै, काठमाडौँस्थित बिम्स्टेक सदस्य राष्ट्रका कूटनीतिक प्रतिनिधि, सम्बन्धित मन्त्रालयका अधिकारी, शिक्षाविद्, नीतिविज्ञ, थिङ्क ट्याङ्क तथा विकास साझेदार संस्थाका प्रतिनिधि, अनुसन्धानकर्ता र विश्वविद्यालयका विद्यार्थीको सहभागिता थियो ।

कार्यक्रममा क्षेत्रीय साझेदारीलाई थप सुदृढ बनाउने तथा अझ बढी आबद्ध, समावेशी र जनमुखी बिम्स्टेक निर्माणका लागि साझा प्रतिबद्धता व्यक्त गरिएको थियो ।

फेसबुक प्रतिक्रिया