
झापा । बिर्तामोड नगरपालिका–८ स्थित देउनिया खोलामा स्थानीयवासीको सक्रियता र पुराणबाट सङ्कलित रकमको सहयोगमा निर्माण गरिएको देउनिया विश्रान्तिघाट अन्तिम चरणमा पुगेको छ । घाटलाई थप आकर्षक बनाउन शनिबार उक्त क्षेत्र परिसरमा बृहत् सरसफाइ गरिएको छ ।
देउनिया विश्रान्तिघाट निर्माण समितिको अगुवाइ तथा बिर्तामोड–८ वडा कार्यालयको समन्वयमा गरिएको सरसफाइ कार्यक्रममा जनप्रतिनिधि, निर्माण समितिका पदाधिकारी, सुरक्षाकर्मी र स्थानीयवासीको सहभागिता थियो । घाट परिसरमा फूलबारी र फलफूलका बिरुवा रोप्ने तयारीस्वरूप सरसफाइ गरिएको हो ।
करिब रु ३५ लाखको लागतमा निर्माण सम्पन्न भएको विश्रान्तिघाटका लागि अन्य सरकारी निकायको पनि आर्थिक सहयोग रहेको छ । जसमा कोशी प्रदेश सरकारबाट रु आठ लाख, बिर्तामोड–८ वडा कार्यालयबाट रु १० लाख बजेट विनियोजन भएको थियो । त्यस्तै गत वर्ष जेठमा लगाइएको धार्मिक पुराणबाट रु नौ लाख ३८ हजार सङ्कलन भएको थियो । बाँकी रकम विभिन्न दाताले सहयोग गरेका थिए ।
निर्माण समितिका सचिव मदन अधिकारीले समुदायको साथबिना यो काम सम्भव नभएको बताए। उनले भने, “पुराणबाट उठेको रकम, स्थानीयवासीको सहयोग र विभिन्न दाताको साथले विश्रान्तिघाट निर्माण सम्पन्न गर्न सफल भएका छौँ । अब उद्घाटनसँगै यसलाई व्यवस्थित र हरियालीयुक्तस्थलका रूपमा विकास गर्ने तयारी गरेका छौँ ।”
बिर्तामोड–८ का वडाध्यक्ष अजय कार्कीले घाट निर्माणसँगै स्थानीयले वर्षौँदेखि भोग्दै आएको शवदाहस्थलको समस्या समाधान भएको बताए । “वर्षायाममा देउनिया खोलामा आउने बाढीका कारण शवदाह गर्न कठिन हुने र शव नै बग्ने जोखिम थियो । नयाँ विश्रान्तिघाट बनेपछि त्यो समस्या अन्त्य भएको छ”, उनले भने ।
वडाध्यक्ष कार्कीका अनुसार अब घाट परिसरको सौन्दर्यकरणमा जोड दिइएको छ । उद्यान निर्माणको अवधारणाअनुसार फूलबारी र फलफूलका बिरुवा रोपेर क्षेत्रलाई हरियालीयुक्त बनाइनेछ । घाट निर्माणमा पशुपतिनाथ क्षेत्रबाट ल्याइएको नफुट्ने प्रकृतिको ढुङ्गा प्रयोग गरिएकाले संरचना दीर्घकालीन र मजबुत बनेको उनले जानकारी दिए ।
विश्रान्तिघाट रहेको क्षेत्रमा सिँचाइ डिभिजन कार्यालयले रु २५ लाखको लागतमा तटबन्ध निर्माण गरिसकेको छ भने जनताको तटबन्ध कार्यालयबाट थप रु २१ लाख तटबन्धका लागि विनियोजन भएको निर्माण समितिले जनाएको छ । समितिका अनुसार विश्रान्तिघाटको उद्घाटन यही साउन महिनाभित्रै गरिने तयारी छ ।













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना