
काठमाडौं । अर्थमन्त्री र २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूले उद्यमीको विश्वास निर्माण गर्ने, लगानी विस्तार गर्ने, उत्पादन बढाउने विषयमा छलफल गरेका छन् । देशमा आर्थिक वृद्धि तथा उत्पादकत्व बढाइ नयाँ चरणमा प्रवेश गराउनेगरी छलफल भएको अर्थमन्त्रीको डा. स्वर्णिम वाग्लेको भनाइ छ ।
औपचारिक छलफल नभइ अर्थतन्त्रलाई पुनः गति दिने साझा अभियानको अर्को चरणका रुपमा मंगलबारको भेटघाटलाई लिन अर्थमन्त्रीले बैंकरलाई सुझाए । निजी उद्योगीहरूसँगको संवादपछि वित्तीय प्रणालीका नेतृत्वकर्तासँग छलफल गरिएको मन्त्री वाग्लले बताए । ‘उत्पादन, लगानी, बचत, वित्तीय विश्वास र आर्थिक गतिविधिको केन्द्रमा बैंकिङ प्रणाली नै छ,’ मन्त्रीले वाग्लेले भने, ‘बैंकमा बचतकर्ता, उद्यमी, किसान, लगानीकर्ता र नयाँ व्यवसाय सुरु गर्न चाहने युवा लगायतका पक्ष आएका हुन्छन्, अर्थतन्त्रको वास्तविक मनोविज्ञान, बजारको आत्मविश्वास, लगानीकर्ताको सोच र भविष्यप्रतिको अपेक्षा सबैभन्दा स्पष्ट रूपमा बैंकरलाई जानकारी वा महसुस हुुन्छ ।’बजेटमार्फत नेपालको आर्थिक रूपान्तरणका लागि सरकारले एउटा स्पष्ट दिशा तय गरेको वाग्लेको दावी छ । त्यसलाई कार्यान्वयन गराउनमा ध्यान केन्द्रित गरेको बताउँदै उनले भने, ‘बजेट कार्यान्वयनसँगै अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न अनुभव र सुझाव लिन चाहेको हो ।’
सबैको लक्ष्य अर्थतन्त्रलाई पुनः गतिशील बनाउने रहेको बताउँदै उनले लगानी बढाउने, उत्पादन विस्तार गर्ने, रोजगारी सिर्जना गर्ने र निजी क्षेत्रको आत्मविश्वास पुनर्स्थापित गर्न आ–आफ्नो क्षेत्रबाट पहल गर्न सुझाए ।
सरकारले नियामकीय, कानुनी र संस्थागत सुधारको प्रक्रिया अगाडि बढाइरहेको उनले बताए । अर्थमन्त्रीले बैंकहरूसँग सरकारले अहिले गरेका पहल तथा सुधारहरू पर्याप्त हुन् ? भन्दै प्रश्न गरेका थिए ।
साथै मन्त्री वाग्लले बैंकरलाई करिब आधा दर्जन प्रश्न दिई छलफल त्यसैमा केन्द्रित गर्न अनुरोध गरेका थिए । मन्त्री वाग्लेका प्रश्नहरूमा अर्थतन्त्रको मनोविज्ञान कस्तो छ ? व्यवसायी किन लगानी विस्तार गर्न हिच्किचाइरहेका छन् ? ऋणको ब्याजदर ऐतिहासिक रूपमा न्यून हुँदा पनि कर्जाको माग किन बढ्न सकेको छैन ? बैकिङ प्रणालीमा रहेको अधिक तरलता उत्पादन र लगानीमा किन रूपान्तरण हुन सकेको छैन ? यसको समाधान मौद्रिक नीतिमा छ, वित्तीय नीतिमा छ कि निजी क्षेत्रको आत्मविश्वासमा ?
बैंकिङ प्रणालीले उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउन के–कस्ता संरचनागत सुधार आवश्यक छन् ? मौद्रिक नीति, नियमन र सुपरीवेक्षणमा अब कुन नयाँ दृष्टिकोण अपनाउनुपर्छ ? अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकिङ क्षेत्रबीचको समन्वयलाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ ?’
छलफल समस्या पहिचानमा सीमित नहुने भन्दै मन्त्री वाग्लले समाधान, समयसीमा र जिम्मेवारी सहित अगाडि बढ्न चाहेको बताए । ‘कानुनी सुधार जहाँ आवश्यक छ, त्यहाँ कानुन सुधार्ने छौँ,’ उनले भने, ‘प्रक्रियागत समस्यामा प्रक्रिया नै बदल्नेछौँ । संस्थागत समन्वय आवश्यक छ, त्यहाँ समन्वय गर्नेछौँ । सरकारबाट निर्णय आवश्यक छ, निर्णय लिन पछि हट्ने छैनौँ, अर्थतन्त्रलाई प्रतिक्रियात्मक ढङ्गले होइन, आत्मविश्वासले भरिएको, भविष्यप्रति आशावादी बनाउन चाहन्छौँ । त्यसैले आजको बैठक वित्तीय प्रणालीलाई आर्थिक रूपान्तरणको नेतृत्वदायी साझेदार बनाउने कार्यशालाका रूपमा अघि बढाऔँ ।’
मन्त्री वाग्लेका अनुसार सरकार र बैंकिङ क्षेत्रबीचको सम्बन्ध नियामक र नियमित निकायको मात्र नभइ साझा राष्ट्रिय जिम्मेवारीको सम्बन्ध हो । आर्थिक वृद्धि, लगानी विस्तार, रोजगारी सिर्जना र वित्तीय स्थायित्व सरकार बैंकरको साझा उद्देश्य हो । मंगलबार बैंकरले दिएका सुझावलाई कार्यान्वयनको स्पष्ट रोडम्यापमा रूपान्तरण गर्ने मन्त्री वाग्लेको प्रतिबद्धता छ ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि