सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच सात बुँदे सहमति भएको छ। मेहताका अभिभावक र नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङबीच सोमबार भएको सहमतिअनुसार मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने सहमति भएको हो।

सहमतिमा साउन १० गते राति देवानगञ्ज–३, कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीउपर प्रचलित कानुनबमोजिम आवश्यक कारबाही तत्काल अघि बढाउने उल्लेख छ। देवानगञ्ज–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल प्रारम्भ गर्ने सहमति भएको छ। सहमतिपत्रमा सरकारले मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारी उपलब्ध गराउन आवश्यक पहल गर्ने उल्लेख छ।

घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिस प्रचलित कानुनबमोजिम कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अघि बढाउने पनि सहमतिमा उल्लेख छ। नेपाल सरकारले मृतकको शव नेपाली सेनाको हेलिकप्टरमार्फत देवानगञ्ज गाउँपालिका–३ सुनसरी लैजाने व्यवस्था गरी मृतकको दाहसंस्कार गर्ने सहमति गरेको छ।

घटनामा मृत्यु भएका तीन जनाको सम्झनामा गाउँपालिकाको उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा यसै वर्ष बजेट विनियोजन गरी स्मृति पार्क निर्माण गर्ने सहमति भएको छ।

फेसबुक प्रतिक्रिया

ताजा अपडेट