
इलाम । वडाध्यक्ष सनम राई गाउँका उदाहरणीय कृषक बनेका छन् । उनी सन्दकपुर गाउँपालिका–२ का वडा अध्यक्ष हुन् । वडा कार्यालयबाट दिने सेवाको समय (१०/५) सकिएपछि उनी किवी (फलफूल) खेतीमा रमाउन थालेसँगै गाउँमा उदाहरणीय कृषक बनेका हुन् ।
उनी नेताले काम गर्नुपर्छ भन्ने मान्यता राख्छन् । १५ रोपनी क्षेत्रफलमा व्यावसायिक किवी खेती गर्दै आएका अध्यक्ष राईले २०७७ सालमा ‘पौरखी कृषि तथा पशुपंक्षी फार्म’ दर्ता गरी व्यावसायिक किवी खेती गरेका हुन् । उनको किवी बगानमा ‘ग्रीन’ र ‘गोल्डेन’ गरी दुई प्रजातिका १५५ वटा बोट छन् । किवीको लहरा चढाउन ३१० वटा पक्की पिल्लर र फलामको तार प्रयोग गरी मचान बनाएका छन् ।
अध्यक्ष राईले रु दुई लाखको लगानीमा किवी खेती सुरु गरेका हुन् । हाल वार्षिक रु तीन लाख आम्दानी गर्छन् । ‘जनताको काम गरेर बचेको समय किवी खेतीमा बिताउँदै आएको छु, मेहनतअनुसार आम्दानीसमेत राम्रै हुँदो रहेछ’, वडाध्यक्ष राईले भने, ‘वार्षिक रूपमा रु तीन लाख आम्दानी गरिरहेको छु । यसले मलाई घर व्यवहार चलाउन सहज रूपमा पुगिरहेको छ ।’ किवीको मुख्य सिजन असोजदेखि मङ्सिरसम्म हो । सिजनमा स्थानीय व्यापारीमार्फत प्रतिकेजी रु १०० देखि रु १२० सम्म बगानबाटै फल बिक्री हुने गरेको छ ।
राईले आलु र मकै खेतीको सट्टामा किवी खेती सुरु गरेका हुन् । ‘यहाँ पहिलेदेखि आलु र मकै खेती गरिन्थ्यो, त्यसैले वर्षदिन खान पुग्दैनथ्यो’, विगत सम्झँदै उनले भने, ‘किवीबाट राम्रो आम्दानी हुन्छ भन्ने सुनेपछि यो खेती सुरु गरको हुँ ।’ पुस्तौँदेखि मकै र आलुको खेती गर्दै आएका किसानले अहिले किवीबाट राम्रो फाइदा लिएको उनी बताउछन् ।
राम्रो आम्दानी हुने भएकाले युवाहरूलाई विदेश जानभन्दा गाउँघरमै किवी खेतीमा लाग्न उनको सुझाव छ । ‘युवाहरू दिनदिनै विदेशिने क्रम बढेकाले गाउँघरका जग्गाजमिनहरू बाझिन थालेका छन्’, उनले भने, ‘बाँझो जग्गाजमिनको सदुपयोग गरी कृषि व्यवसायमा सञ्चालन गरी गाउँमै स्वरोजगार बन्न सकिन्छ ।’
राईले यो वर्षदेखि अलैँची खेती समेत सुरु गरेका छन् । उनले यसवर्ष सात हजार अलैँचीको बिरुवा रोपेका छन् । राई २०७९ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाट वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
राई निर्वाचित नहुँदै उनको फार्मलाई इलाममा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ५० प्रतिशत लागत साझेदारीमा आर्थिक वर्ष २०७८/०७९ मा रु एक लाख ५० हजार अनुदान दिएको थियो । परियोजनाको रु एक लाख ५० हजार र फार्मको रु एक लाख ५० हजार गरी रु तीन लाखको कार्यक्रमबाट किवी खेतीका लागि राहत मिलेको राईले बताए । किवी एक लहरा प्रजातिको बहुवर्षे बाली हो । किवी १२०० देखि २४०० मिटरको उचाइसम्म लगाउन सकिन्छ ।
गर्मीको समयमा ३५ डिग्री सेल्सियसभन्दा तापक्रम बढी नभएको शरद (असोज, कात्तिक) र वसन्त (चैत, वैशाख) मा बाक्लो तुसारो नपर्ने वातावरणमा किवी फस्टाउँछ । यो फल पोसिलो र औषधिय गुण भएकाले यसलाई ‘फलहरूको राजा’ भनिन्छ । किवी नियमित खानाले पाचन प्रणाली र मधुमेह नियन्त्रण हुने विश्वास छ । किवीबाट जुस, जाम, वाइन, जेल्ली, आइसक्रिम र अन्य परिकार बनाउन सकिन्छ ।
इलामको सन्दकपुर गाउँपालिका, इलाम नगरपालिका, माङसेबुङ गाउँपालिका, देउमाई नगरपालिकाका माथिल्लो क्षेत्रका किसानले परम्परागत खेती छाडेर व्यावसायिक किवी खेती गर्दै आएका छन् । एकपटक लगाएपछि पुनः पटकपटक दुःख गर्नु नपर्ने, बजारको खासै समस्या नहुने, अन्य खेतीभन्दा राम्रो फाइदा लिन सकिने भएकाले किवी खेतीतर्फ किसानको आकर्षण बढेको हो ।













समाचार
सोलुखुम्बुका शेर्पालाई कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीको जिम्मेवारी
कुगेलेइनले एनपिएल तेस्रो सिजन पनि सुदूरपश्चिमबाटै खेल्ने
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासकाे मत
बासुकीमा नागपञ्चमी मेला : शिवमूर्तिमा प्राणप्रतिष्ठा
संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
कानुन समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छ : सभामुख अर्याल
७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ
मरुवा रोगका कारण ३५ प्रतिशतले घट्यो चैते धानको उत्पादन
गोसाइँकुण्ड मेला आउने तीर्थयात्री लक्षित शुल्क निर्धारण