जन्तेढुङ्गाको पुमा सामुदायिक ‘होमस्टे’ घरबास छोटो समयमै पाहुनाको रोजाइमा

खोटाङ । किरात पहिरनमा सजिएकी कन्या । हातमा थाली र फूलका गुच्छा बोकेर प्रवेशद्वारमा उभिएकी छिन् । जब कोही पाहुना उनको अगाडि पुग्छन् । किरात संस्कारअनुसार सेवाढोग गर्दै फूलका गुच्छा हातमा थमाएर स्वागत गर्छिन् ।

जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङका पुमा राई समुदायले सञ्चालन गरेको ‘पुमा सामुदायिक ‘होमस्टे’ घरबासमा पुगेका अतिथिलाई स्वागत गर्ने प्रचलनको सामान्य वर्णन हो यो । दिप्लुङस्थित निगालावासका ११ घर पुमा राईहरू मिलेर विसं २०८१ माघ १५ गतेदेखि ‘पुमा सामुदायिक ‘होमस्टे’ घरबास’ सञ्चालन गरेका छन् ।

गाउँपालिकाको कार्यालयमा आधिकारिक रूपमा दर्ता गरेर सञ्चालन गरिएको होमस्टे छोटो समयमा नै पाहुनाका लागि आकर्षणको केन्द्र बनेको छ । गाउँपालिकाको केन्द्र चिसापानी बजार पुगेका जो कोही एक रात पुमा सामुदायिक होमस्टे पुगेर मनोरञ्जन गर्ने गर्छन् ।

होमस्टेमा पाइने स्थानीय परिकार तथा पुमा राई समुदायको सांस्कृतिक झाँकी पर्यटकको मुख्य आकर्षणको केन्द्र बनेको छ । होमस्टेमा बस्ने पाहुनाका लागि खाजामा कोदो र फापरको रोटी, उसिनेको मकै तथा भुटेको मकै–भटमास दिने गरेका छन् । होमस्टे आउने पाहुनाका लागि खानामा कोदोको ढिँडो, मकैको भात र जौको भात, सिस्नो, स्थानीय जातका कुखुरा, बङ्गुर र राँगाको मासु उपलब्ध छ । ढिँडो र कुखुराको मासु खाएमा प्रतिव्यक्ति रु ३०० तथा बङ्गुर र राँगाको मासु खाएमा प्रतिव्यक्ति रु २५० लिने गरिएको सञ्चालकले बताएका छन् ।

मकैको भात र सिस्नो प्रतिव्यक्ति रु २०० तथा खाजामा प्रतिव्यक्ति रु १०० का दरले लिने गरिएको जनाइएको छ । यसैगरी, स्थानीय पेयपदार्थ उपलब्ध गराइन्छ ।

होमस्टे सञ्चालक समितिका अध्यक्ष मञ्जुकुमारी राईले दुई रोपनी जग्गा पनि उपलब्ध गराएको सचिव दीपक राईले जानकारी दिए। “अध्यक्षले निःशुल्क उपलब्ध गराउनुभएको जग्गामा पाहुना सत्कार घर निर्माण गर्ने योजना बनाएका छौँ । गाउँपालिकाको सहयोगमा शौचालय र बाथरुम निर्माण गरिसकिएको छ,” उनले भने, “भवन निर्माणका लागि गाउँपालिकाले रु आठ लाख ९० हजार उपलब्ध गराएको छ । पहिलो तलामा सङ्ग्रहालयसहितको पाहुना सत्कार कक्ष र माथिल्लो तलामा बास बस्ने ठाउँ बनाउने योजना छ ।”

होमस्टे सञ्चालनका लागि स्थानीयलाई गाउँपालिकाले तीन वर्षअघि आवश्यक तालिम पनि उपलब्ध गराएको थियो । होमस्टेको मापदण्ड, पाहुनालाई आकर्षित गर्न गरिने व्यवहार, सरसफाइ तथा सुरक्षाका विषयमा सञ्चालकहरूलाई जानकारी गराइएको गाउँपालिका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिइन् ।

होमस्टे सञ्चालकलाई गाउँपालिकाले उदयपुरको त्रियुगा नगरपालिका–१३ बहेडुवामा थारु समुदायले सञ्चालन गरेको बहेडुवा सामुदायिक होमस्टे र धनकुटाको साँगुरीगढी गाउँपालिकामा मगर समुदायले सञ्चालन गरेको नाम्जे–थुम्की सामुदायिक होमस्टेको अवलोकन भ्रमण गराएको थियो । निगालावासका पुमा राईले सञ्चालन गरेको होमस्टे पछिल्लो समय धेरैका लागि अध्ययन गर्ने थलो बनेको छ ।

स्थानीयलाई आम्दानीको स्रोतसँग जोड्दै पर्यटन प्रवद्र्धन गर्न निगालावासमा पुमा सामुदायिक होमस्टे सञ्चालनमा सहयोग गरिएको गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दीक्षा’ले जानकारी दिइन् । “हाम्रो गाउँपालिकामा धेरै पर्यटकीयस्थल छन् । यहाँ आउने पर्यटकलाई खाने तथा बस्ने व्यवस्था मिलाउनका लागि पनि निगालावासमा होमस्टे सञ्चालन गरिएको हो,” उनले भनिन्, “गाउँपालिकाको सहयोगमा सञ्चालित पुमा सामुदायिक होमस्टेले छोटो समयमै राम्रो उपलब्धि गरेको छ । यसलाई समय सान्दर्भिक बनाउन गाउँपालिकाले निरन्तर सहयोग गर्छ ।”

उक्त होमस्टेमा विशेषगरी पर्यटकीयस्थल जन्तेढुङ्गा, होङ्मा पोखरी र भञ्ज्याङखर्क घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक बस्नका लागि आउने गरेको सञ्चालकले बताएका छन् । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी र वडा नं ६ दिप्लुङको सिमानामा अवस्थित पर्यटकीयस्थल जन्तेढुङ्गामा परापूर्वकालमा जन्ती लोप (अलप) भएको किंवदन्ती छ ।

पर्यटकीयस्थल र पुमा सामुदायिक होमस्टेसम्मको सडकमार्ग सहज भएकाले पनि होमस्टेमा पाहुनाको आकर्षण बढेको सञ्चालकले बताएका छन् । होमस्टेमा आउने अधिकांश पाहुना आफ्नै गाडी तथा मोटरसाइकल लिएर बास बस्नका लागि आउने गरेका छन् ।

पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सक्ने यस गाउँपालिकामा जन्तेढुङ्गामा, भञ्ज्याङखर्क, चण्डीथान, भानुमती आदि रमणीय स्थान छन् । भिन्न भिन्न जातिले आ–आफ्नै धर्म तथा संस्कृतअनुसार फरक–फरक किसिमका चाडपर्व मनाउने भएता पनि साकेला, दसैँ/तिहार, तीज आदि चाडपर्वको विशेष महत्त्व छ ।

जिल्लाको दक्षिणी भेगमा अवस्थित यो गाउँपालिका सदरमुकाम दिक्तेलबाट करिब १८ कोष दक्षिणमा पर्दछ । पूर्वमा आमचोक गाउँपालिका (भोजपुर), दक्षिणमा चौदण्डीगढी नगरपालिका (उदयपुर), पश्चिममा बराहपोखरी गाउँपालिका (खोटाङ) र उत्तरमा खोटेहाङ गाउँपालिका (खोटाङ)को बीचमा अवस्थित छ ।

फेसबुक प्रतिक्रिया