ल्हेन्दे खोलामा बन्यो विशाल ताल, तीन दिनमा थप ३० लाख घनमिटर पानी जम्मा हुने चेतावनी

काठमाडौं । नेपाल–चीन सीमाक्षेत्रमा आएको भीषण बाढी र हिमपहिरोपछि ल्हेन्दे खोलाको माथिल्लो क्षेत्रमा ठूलो ताल बनेको चीनले जनाएको छ । चीनको जलस्रोत मन्त्रालयका अनुसार चीनतर्फको छोचेन खोला र नेपालतर्फको पुरेपु त्याङ्पो खोलाको दोभान नजिकै बनेको तालमा बिहीबार बिहानसम्म करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको छ । तालबाट पानी बाहिर निस्कन थाले पनि आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी जम्मा हुन सक्ने चेतावनी दिइएको छ ।

चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार जलस्रोत मन्त्रालयले उक्त तालको अवस्थालाई निरन्तर निगरानी गरिरहेको छ । सम्भावित ताल फुट्ने अवस्थाबाट तल्लो तटीय क्षेत्रमा आउन सक्ने बाढीको जोखिमबारे चिनियाँ अधिकारीहरूले बाढीको मोडलिङ तथा जोखिम विश्लेषणसमेत गरिरहेका छन् । मन्त्रालयले ताल फुटेमा त्यसले थप ठूलो विपद् निम्त्याउन सक्ने भएकाले उच्च सतर्कता अपनाएको जनाएको छ ।

यसैबीच सीमाक्षेत्रको उद्धार कार्यसमेत चुनौतीपूर्ण बनेको छ । ग्लोबल टाइम्सका अनुसार यो घटनापछि चीनले सेना, अग्नि उद्धार टोली, इन्जिनियरिङ टोली तथा अन्य प्राविधिक जनशक्ति परिचालन गरेको छ । उद्धार क्षेत्रमा निरन्तर वर्षा, अत्यन्त जटिल पहाडी भूगोल र थप पहिरो तथा हिमपहिरोको जोखिम रहेको चिनियाँ अधिकारीहरूले बताएका छन् । केही स्थानमा सडक तथा सञ्चारसमेत अवरुद्ध भएकाले उद्धारमा कठिनाइ भइरहेको छ ।

चीनतर्फको घटनामा बिहीबार बिहानसम्म तीन जनाको मृत्यु, दुई जनाको उद्धार र ५५८ जना बेपत्ता रहेको ग्लोबल टाइम्सले जनाएको छ । बेपत्तामध्ये २६० जना विदेशी नागरिक छन् । चीनको परराष्ट्र मन्त्रालयले नेपालतर्फको विपद् क्षेत्रमा करिब १०० चिनियाँ नागरिकसमेत बेपत्ता रहेको प्रारम्भिक जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट